काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘लुज डाउन’ निषेधाज्ञा केहि खुकुलो गरिएको छ । वैशाख १६ देखि पटक-पटक गरि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।
खाद्यान्न ११ बजेसम्म, अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने तथा भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय भएको छ । “यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ”, दाहालले भने, “केही सहजीकरण भने पक्कै हुनेछ ।”
सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ । सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको र छ हजार ९५१ सङ्क्रमित निको भएका छन् । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।
Views: 0