काठमाडौँ । महामारीको मौकामा खोपमा ठगी हुन थालेको सूचना पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले कसैले शुल्क मागेर खोप उपलब्ध गराउँछु भन्यो भने विश्वास नगर्न आग्रह गरेका छन् । त्यस्ता ब्यक्तिका बारेमा तत्काल प्रहरी वा अन्य सरकारी निकायमा खबर गर्न पनि आग्रह गरेको छ । सोमवार सूचना मार्फत मन्त्रालयले पैसा मागेर खोप दिन्छु भन्ने कुरा गरेमा वा यस्ता ठगी गर्ने घटनाबारे जानकारी भएमा उजुरी गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले कोरोना विरुद्धको खोप निशुल्क वितरण गरिरहेको जानकारी दिएको हो । उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार पालै–पालो खोप वितरण भइरहेको हुँदा यस्ता ठगीबारे जानकारी भएमा तुरुन्त खबर गर्न तथा उजुरी गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले सूचनामा भनेको छ, ‘आफ्नो पालो कुरी कोभिड(१९ विरुद्धको खोप निशुल्क लगाऔँ, पैसा तिरेर किन्ने हतारमा ठगीको सिकार नबनौँ ।’
मन्त्रालयले कसैले खोप उपलब्ध गराउने वा ठगी गर्नेहरुको जानकारी भएमा स्थानीय प्रशासनलाई समेत जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
Views: 0