श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ जारी गर्ने तयारी थालेकाे छ । त्यसका लागि श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले बिक्री गर्न सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नियुक्ती सम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र श्वेतगंगा हाइड्रोपावरको तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
श्वेतगंगाले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण तथा कर्मचारीलाई गरी कुल ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । उक्त सेयर कम्पनीको जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत हो ।
श्वेतगंगाले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सीमाना भएर बग्ने लिखु नदीको बहाव प्रयोग गरी २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यू खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले आइपीओ बिक्रीका लागि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । धितोपत्र बोर्डमा आवेदन दिई स्वीकृति पाएपछि मात्र आइपीओ जारी हुन्छ ।
Views: 0