अभिनेत्री पल्पसाको मृत्युको खबर कसरि आयो बाहिर ?

२०७८ भाद्र १८, शुक्रबार १२:५४ गते २०७८ भाद्र १८, शुक्रबार १२:५४ गते २०७८ भाद्र १८, शुक्रबार १२:५४ गते

काठमाडौं । यतीबेला घरमा आराम गरिरहेकी हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोलको परिवारलाई सोरबार र मंगलबार धेरैले फोन गरेर पल्पसाको अवस्थाबारे जानकारी लिए । टिकटक चलाउनै कुनै व्यक्तिले यी पल्पसाको तस्बिरमा ‘श्रद्धाञ्जली’ लेखेर सोमबार टिकटक बनाएपछि धेरैले आत्तिँदै उनका परिवारलाई फोन गरेका हुन् । धेरैले उनको टिकटकमा लेखिएको श्रद्धाञ्जलीबारे प्रश्न राख्दा उनका आफ्नाले हैन भनेर प्रस्ट पार्नुपरेको थियो । कसैलाई पनि एक्कासी श्रद्धाञ्जली लेख्दा त्यो व्यक्तिको परिवारदेखि शुभचिन्तकसम्म आत्तिनु स्वाभाविक नै हो । यही समस्या पल्पसा र उनको परिवारले अहिले भोग्नुपरेको छ ।

यो प्रसंगमा हास्यव्यंग्य अभिनेत्री पल्पसाले राजधानीसँग भनिन्, ‘टिकटकको भ्युज बढाउने नाममा जिउँदो मान्छेलाई यसरी हार्दिक श्रद्धाञ्जली लेखेर भिडियो लोड गर्दा कति पीडा हुन्छ होला । यस्तै पीडा अहिले म र मेरो परिवारले भोग्नुपरेको छ,’ उनले अगाडि थपिन्, ‘म स्वास्थ्य उपचार गराइरहेको बेला टिकटिक चलाउनेहरूले मेरो तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेर पटकपटक भिडियो लोड गर्दै मलाई जिउँदै मारिरहेका छन् । गत महिना पनि मलाई यस्तो पीडा दिइएको थियो र हिजो मंगलबार पनि यस्तै पीडादायी कार्य टिकटक चलाउनेहरूले गरेका छन् ।’

हास्यव्यंग्य अभिनेत्री पल्पसाले टिकटकमा भ्युज बढाउन यसरी जिउँदै मानिसलाई मार्ने काम बन्द गर्न आग्रह गरेकी छन् । यस्तो कार्यले आफूहरूजस्ता बिरामीलाई मानसिक रूपमा साह्रै तनाव हुने र मनोबल खस्कने पनि उनले बताएकी छन् । अहिलेको अवस्था आफूलाई हौसला र साथको आवश्यकता भएको पनि उनको कथन छ ।

हास्य अभिनेत्री पल्पसा डंगोलको स्वास्थ्यमा केही सुधार आएको छ । गत महिना दुईवटै मिर्गाैलाले काम गर्न छाडेपछि काठमाडौंको त्रिविवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी केही समय उपचारपछि अहिले घरमै आराम गरिरहेकी छन् । उनले अहिले ग्वार्कोस्थित किस्ट अस्पतालमा डाइलसिस गरिरहेकी छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे उनले राजधानीसँग भनिन्, ‘पहिलाको भन्दा केही सुधार भएको छ । अहिले आफैं नुहाउने, खाना बनाएर खाने तथा सामान्य हिँडडुल गर्न सक्ने भएकी छु ।’

करिब एक महिना शिक्षण अस्पताल बसेर घर फर्किएकी उनी पछिल्लो समय कीर्तिपुरको पाँगास्थित माइतमा बस्दै आएकी छन् । अहिले सातामा दुईपटक किस्ट अस्पतालमा डाइलसिस गरिरहेको पनि उनले जानकारी गराइन् ।

यी अभिनेत्रीले अबको केही समयमा मिर्गाैला प्रत्यारोपण गर्ने पनि बताएकी छन् । एक जना आफन्त मिर्गौला दिन तयार भएको र मिर्गाैला प्रत्यारोपणका लागि अहिले आवश्यक स्वास्थ्य परीक्षण पनि गरिरहेको उनले बताइन् । सबै परीक्षण सकिएको र अब आफूहरूको मिर्गाैला ‘म्याचिङ’को परीक्षण यो साता हुने पनि उनले बताइन् । यदि म्याचिङ भएको खण्डमा आफू मिर्गौला प्रत्यारोपणको तयारीमा जुट्ने पनि उनले जनाएकी छन् ।

पाँच वर्षअघि नै एउटा मिर्गाैला खराब भएपछि पल्पसाले निकै सजगता अपनाउँदै आएकी थिइन् । दुई महिनाअघि एक्कासि अर्को पनि मिर्गाैलाले काम गर्न छाडेपछि अहिलेको अवस्थामा आफू पुग्नुपरेको पल्पसाको कथन छ । तथापि शुभचिन्तकहरूको साथ, हौसला र प्रेरणाले आफ्नो आत्मबल उच्च हुँदै गरेको पनि उनले बताएकी छन् । राजधानी दैनिकमा यो खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *