काठमाडौं, ७ असोज – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुफिन सहित बारा आदर्श कोटवाल गाउँपालिका-३ घर भएका २१ वर्षीय जितेन्द्र प्रसाद यादबलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाराबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०२-०३-००१ ख ०१५८ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाचँ गर्नेक्रममा बसमा सवार
जितेन्द्रलाई झोलाभित्र लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, सिमरा उपमहानगरपालिका-१८ कुसमारी टोलस्थित पसहा खोलाको ड्यामबाट करिब १० केजी ८ सय ३० ग्राम अवैध लागूऔषध गाँजा सहित निजगढ नगरपालिका-१२ रतनपुर बस्ने ४५ वर्षीय किसाने बिकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटीएको प्रहरीलाई देखेर प्र २-०३-००२ प २८८५ र ना.१४ प २५१२ नम्बरको मोटरसाइकल सोही ठाउँमा छोडेर भाग्ने क्रममा पिछा गर्दै जाँदा उनलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देही, रोहिणी गाउँपालिका-५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ सिसि डाईजेपाम, ३ सय १६ सिसि नुफिन र ३ सय ५ सिसि फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी रामग्राम नगरपालिका-१६ बस्ने १९ वर्षीय इस्लाम चुरीहार र २० वर्षीय आलमगरी चुरीहार रहेका छन् । लु.४ प ११३४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0