के बुद्ध एयरको जहाजमा पूर्वराजा ज्ञानेन्द्र र कोमल पनि थिए ? पाइलट शेर्पासँगको फोटो यसरी भयो भाइरल (भिडियो सहित)

२०७८ आश्विन १२, मंगलवार ११:०२ गते २०७८ आश्विन १२, मंगलवार ११:०२ गते २०७८ आश्विन १२, मंगलवार ११:०२ गते

काठमाडौं – काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर पुनः काठमाडौं फर्किइयो । झण्डै दुई घण्टा आकाशमा ‘होल्ड’ गरेपछि जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा चालक दलका सदस्यसहित ७७ यात्रु सवार थिए । सुरक्षित अवतरण गरेपछि क्याप्टेन शेर्पासहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीले स्वागत गरेका छन् ।

जहाजबाट ओर्लिएका क्याप्टेन शेर्पालाई अंकमाल गर्दै सबैको शुभेक्षा प्रकट गरेका छन् । शेर्पाको साहसिक, धैर्यवान र कुशल कार्यले नै ७७ जनाको सुरक्षित फर्किएका हुन् । तर, सोमबार साँझबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पासहित बुद्ध एयरका कर्मचारीसहितको एउटा तस्वीर भाइरल भएको छ । के पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल त्यो जहाजमा थिए ? स्वदेश नेपालले फ्याक्ट चेक गरेको छ ।

फेसबुकको एउटा ग्रुपमा प्रेम कोइराला लेख्छन्, ‘काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा सवार राजारानीसहित सम्पूर्णको जीवन सुरक्षित रह्यो, राजारानीसँगै रहेकाले प्रायः व्यक्तिहरूलाई ठुक्क थियो, जहाँ राजा छन्, त्यहाँ भगवान रहन्छन् । जय देश जय नरेश ।’

फेसबुकमै पार्वती थापाले लेखेकी छिन्, ‘साहसी क्याप्टेन आङगेलु शर्पाज्यू नमन! आज बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने भगवान!’ उनले पनि पूर्वराजा ज्ञानेन्द्रको तस्वीर पोस्ट गरेकी छिन् । फेसबुकमा अर्को पोस्ट छ, विशाल राजभण्डारीको । उनी लेख्छन्, ‘जहाँ राजारानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही सावित भयो । आजको बुद्ध एयरमा राजारानी पनि सवार थिए, त्यही भएर भगवान श्री पशुपतिनाथको कृपाले दुर्घटना हुनुबाट जोगियो ।’

के ज्ञानेन्द्र र कोमल विमानमा थिए ?

दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल अवतरण भयो । त्यसपछि सबै यात्रु गन्तव्यतिर लागे । कोही भिआइपी छन् कि भन्ने चासो थियो । किनभने दिउसोको कार्यक्रमका लागि राजनीतिक दलका नेताहरू बिहानै विराटनगर जाने गरेका छन् । अब कुरा गरौं भाइरल भएको तस्वीरको ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँग क्याप्टेन शेर्पाले फोटो खिचेका रहेछन् । तर, सोमबार होइन । भाइरल भइरहेकामध्ये एक तस्वीरमा सन् २०१० अक्टुबर ११ तारिख उल्लेख छ । अर्को तस्वीर सन् २०१२ तिरको भन्ने बुझिएको छ । त्यस कारण पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको उक्त तस्वीर सोमबारको नभएको पुष्टि भएको छ ।

कहाँ छन् ज्ञानेन्द्र ?

फोटो भाइरल भएपछि स्वदेश नेपालले पूर्वराजाका सञ्चार सचिव फणिराज पाठकलाई सम्पर्क गरेको थियो । पाठकले पूर्वराजा ज्ञानेन्द्र काठमाडौंमै रहेको बताए । साथै ज्ञानेन्द्र उक्त जहाजमा नरहेको पनि पुष्टि गरे । त्यसैले सोमबार भाइरल भइरहेको तस्वीर पूरानो हो भन्ने पुष्टि हुन्छ । यद्यपि, नेपालमा राजतन्त्र गए पनि ज्ञानेन्द्र पक्षधर सानो जमात अहिले पनि छ । ज्ञानेन्द्रका अनेक तस्वीर भाइरल बनाउने काम सोही समूहको हो ।

यसअघि, जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो । विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो ।

यसरी भयो पाइलटको स्वागत (हेर्नुहोस् भिडियो)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *