घान्द्रुक दुर्घटना: काठमाडौंबाट घुम्न गएका थिए उनीहरू

२०७८ आश्विन २५, सोमबार २२:०२ गते २०७८ आश्विन २५, सोमबार २२:०२ गते २०७८ आश्विन २५, सोमबार २२:०२ गते

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट गएको खुलेको छ। मृतकहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा एक जनालाई सकुशल उद्दार गरिएको र अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री छन्।

जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए।

घटनामा २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी भिरमा अड्किएको अवस्थामा फेला परेपछि प्रहरी र स्थानीयबासीले उद्दार गरेका थिए।

जीप साढे १ बजे हुदुमा पुग्दा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ। पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलाभीरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनका अनुसार उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो। मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *