दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक दायित्वको रुपमा लिइन्छ । सन् १९९० को दशकयता दक्षिण कोरियाको सरकारले ग्रामीण क्षेत्रमा रहेका र जोडी नभेटेका पुरुषलाई विदेशीसँग विवाहको लागि प्रेरित गर्न थालेको थियो। यद्यपि दक्षिण कोरियामा ‘वैवाहिक आप्रवासी’ महिलाको जीवन भने त्यति सहज छैन । दक्षिण कोरियामा हुने गरेका घरेलु हिंसा र दुव्र्यवहारको समाचारले धेरै महिला डराउने पनि गरेका छन्। अझ केही महिला त दक्षिण कोरियाको भाषा नै नसिकी आएका हुन्छन् । यसले समस्या झन् बढाउँछ । तर, यी सबै समस्याका बाबजुद उनीहरुले दक्षिण कोरियाको समाजमा राम्रो प्रभाव पारिरहेका छन् । यहाँ उनीहरुमध्ये केहीको कथा उल्लेख छ–
प्रहरी अधिकारी
किम हानाले नेपालमा आफ्ना पतिलाई पहिलोपटक भेटेकी थिइन् । उनीहरुको भेट हानाकी काकीले मिलाएकी थिइन् । दक्षिण कोरियाबाट उडेको तीन दिनमा नै उनीहरुको बीचमा विवाहको विषयमा कुराकानी शुरु भएको थियो । सोही वर्ष उनीहरु दक्षिण कोरिया फर्किए । हानाका अनुसार नेपालमा निकै सीमित अवसर पाइने हुनाले नेपाली युवतीले कामका लागि वा विवाह गरेर विदेश जाने सपना देख्नु नौलो कुरा होइन । उनीहरुले विवाह गरेको ११ वर्ष पूरा भइसकेको छ र उनी अहिले प्रहरी अधिकारी छिन् । दक्षिण कोरियाभन्दा बाहिरी मूलका केही प्रहरी अफिसरमध्येकी उनी एक हुन् ।
‘धेरै मानिसहरुले मेरो तुलना स्वदेशी कोरियाली मानिसहरुसँग हुन सक्दैन भन्ने सोच्ने तर मलाई यस विषयमा सोच्ने फुर्सद थिएन,’ ३१ वर्षीया हाना भन्छिन् । उनको वास्तविक नाम सम्झना राई हो, तर उनले विवाहपछि दक्षिण कोरियाली नाम राखेकी हुन् । ‘मैले प्रहरीको युनिफर्म लगाएर र पेस्तोल भिर्दै गर्दा म कोरियाली नदेखिँदा कसैलाई समस्या हुन्छ कि जस्तो लाग्दैन,’ उनले भनिन् । उनी विदेश मामिला अधिकृतको रुपमा कार्यरत छिन् । उनले नेपाली र कोरियाली समुदायको सेतुको रुपमा काम गरिरहेकी छन् ।
पछिल्लो केही वर्षमा कोरिया आएर बिहे गर्ने महिलाको संख्या दोब्बरभन्दा बढी पुगेको छ । सन् २००७ मा यो संख्या ११० देखि १२० को हाराहारीमा रहेकोमा सन् २०१९ मा यो संख्या करिब ३ सयको हाराहारीमा पुगेको सरकारी तथ्यांक छ ।यद्यपि दक्षिण कोरियामा पूर्वी तथा दक्षिण एसियाली पत्नी इमेलमार्फत अर्डर गरेर वा किनिने गरेको भेदभावपूर्ण अन्धविश्वास छ । ‘मलाई याद छ, मेरो छोरा सानो हुँदा म बसमा चढ्न गइरहेको थिएँ र एउटा मानिसले मलाई हेरेर कराएको थियो– भियतनाम ! छिटो यहाँ आएर बस,’ किम हाना भन्छिन् । दक्षिण कोरियामा विवाह गरेर आउने विदेशी महिलामा भियतनामका महिलाको संख्या सबैभन्दा धेरै अर्थात् करीब एक तिहाइ छ ।
यद्यपि किम हानाले यसलाई त्यति गम्भीर रुपमा लिइनन् । दक्षिण कोरियामा पछिल्लो समय फरक–फरक संस्कृतिको पृष्ठभूमि भएका मानिसहरु बढ्दै गएकाले दक्षिण कोरियाली समाज पनि प्रगतितर्फ अघि बढिरहेको उनको भनाइ छ । सन् २००८ यता दक्षिण कोरियाली सरकारले बहुसांस्कृतिक सहायता केन्द्रहरु खोलेको छ । ‘अहिले दक्षिण कोरियामा ठूलो विदेशी समुदाय छ र मैले आफ्नो काम गरिरहँदा पनि धेरै फरक–फरक मानिसहरु भेट्ने गरेकी छु ।’
Views: 0