पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका विदेशी यात्रुको यो सङ्ख्या कोभिड–१९ सङ्क्रमणयताकै सबैभन्दा धेरै हो । यसअघिको सेप्टेम्बरको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो । सेप्टेम्बरमा नौ हजार ९८९ विदेशी नेपाल भित्रिएका थिए ।
तथ्याङ्कअनुसार अक्टोबरमा भारतबाट मात्रै आठ हजार ७३६ नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ७११ जना नेपाल आएको तथ्याङ्क छ । तेस्रोमा बेलायतबाट एक हजार ३८१ जना नेपाल आएका छन् । क्षेत्रीय हिसाबले सार्कबाट नौ हजार ४२० जना नेपाल आएकामा एसियाबाट ७३१ जना विदेशी भित्रिएका छन् । युरोपबाट पाँच हजार १९ भित्रिँदा, अमेरिकी मुलुकबाट पाँच हजार २७४ र ओसियना क्षेत्रबाट १५० जना विदेशी नेपाल आएको देखिन्छ ।’
कोरोना सङ्क्रमणका कारण सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रका लागि यो सङ्ख्याले सकारात्मक सङ्केत गरेको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो । गाेरखापत्र दैनिक
Views: 0