काठमाडौं, २८ मंसिर । नेपाल हस्तकला महासंघ ५० औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्वस बर्षभरी विभिन्न प्रवद्र्धनमुलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित स्वर्ण महोत्सवको घोषणा गरिएको हो ।
१० औंं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गर्नुभयो । उहाँले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह समेत गर्नुभयो । नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उपराष्टपति पुनले भन्नुभयो, ‘नेपाल सर्बोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिदै आएको छ, यसमा हस्तकलासमेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्वद्र्धनसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जुन हाम्रा लागि गौरवको कुरा हो ।’
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्र्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम संचालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिनुभयो ।
त्यस्तै हस्तकलाले खेलेको भूमिकाबारे निवन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई क्रमश सम्मान गर्दै जाने, बृक्षारोपणका कार्यक्रम संचालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि अध्यक्ष शाक्यले बताउनुभयो ।
हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताउनुभयो । महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठ वर्ष वितिसक्दा पनि नीति कार्यान्वयन नआएको उहाँले गुनासोसमेत गर्नुभयो । कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षालगायतका कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको उहाँले बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
सो अवसरमा महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा , नरेश लाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष शाक्यका अनुसार ४९ औं वर्षको यात्रामा महासंघले हस्तकला क्षेत्रको दीगो विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । हस्तकलाको अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्यूयोर्कमा प्रोडक्ट अफ नेपाल(पोन) नामक कम्पनी स्थापना र संचालनमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
समान उद्देश्यका अन्तराष्ट्रिय संघ संस्थासँग भातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासंघले विश्वकला परिषद (वल्र्ड क्राफ्ट काउन्सिल)को सन् १९९० मा सदस्यता लिई परिषदबाट संचालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । परिषदको एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासंघले काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको थियो ।
महासंघका अनुसार संगठनलाई देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एकहजार सातसय क्रियाशिल सदस्य रहेका छन् ।
Views: 0