काठमाडौं। सत्यवती आल्मुनाई एसोसियसन अफ नेपालद्धारा पहिलो करियर सम्मेलन सम्पन्न गरेको छ । धादिङ्ग जिल्लाको सिद्धलेक ७ आदमटारमा रहेको सत्यवती उच्च माध्यामिक विद्यालयका भू.पू.विद्यार्थीहरुले गठन गरेको सत्यवती आल्मुनाई एसोसियसन अफ नेपाल (सान) ले करियर सम्मेलनको आयोजना गरेको हो ।
बुधबारबाट सुरु भएको करियर कन्फेरेन्समा विभिन्न विषयमा शैक्षिक परामर्श प्रदान गरिएको सानका अध्यक्ष बद्री सुवेदीले जानकारी दिए । कार्यक्रममा सत्यवती उच्च माध्यमिक विद्यालयसँगै आसपासका विभिन्न उच्च माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सम्मेलनको लागी आफ्नो पेशा व्यवसाय भन्दा पनि आफु पढेको विद्यालयकै सभा हलमा सानले आयोजना गरेका कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न व्यक्तिहरुले आ आफनो प्रस्तुती राखेका थिए । सोही विद्यालयका भु.पु विद्यार्थीहरु त्रिपुरासुन्दरी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडाले निजामति सेवा, अनलाइनखबरका विचार सम्पादक तथा एकोराबका सचिव सम्पादक सुर्दशन खतिवडाले पत्रकारिता, युवा उद्यमी सरोज खनालले स्टार्टअप व्यवसाय, सानीमा बैंक नुवाकोट शाखाका प्रबन्धक मधुप्रकाश खतिवडाले बैंकिङ सेवाका विषयमा परामर्श दिएका थिए ।
यसैगरी विद्यालयका पूर्वविद्यार्थी तथा व्यवसायी श्यामचन्द्र खतिवडाले वैदेशिक रोगजारी, लामो समयदेखि वितीय व्यवस्थापन र धितोपत्र बजारमा अध्ययन, अध्यापन तथा कारोवार गर्दै आएका भु.पु.विद्यार्थी तथा सान नेपालका अध्यक्ष अधिवक्ता बद्री सुवेदीले सेयर बजार, सिताराम अधिकारीले कोरियन रोजगारीका विषयमा परार्मश दिए भने, राष्ट्रिय वाणिज्य बैंक गजुरीका प्रबन्धक अनिता श्रेष्ठले बैंकिङ साक्षरताबारे परामर्श प्रदान गरिन् ।
सान नेपालका कार्यसमिति सदस्य विमला सेढाईले बिमा शिक्षा, पूर्व विद्यार्थी किरण अधिकारीले वैदेशिक शिक्षाबारे परामर्श दिए भने सामाजिक अभियन्ता बि.के.रमण भट्टराईले प्रेरणादायी प्रशिक्षण (Motivational Speech) प्रदान गरे ।
परामर्शको क्रममा राष्ट्रिय वाणिज्य बैंककी शाखा प्रबन्धक श्रेष्ठले एकजना विद्यार्थीलाई बैंकमा इन्टर्नशीपको अवसर प्रदान गर्ने घोषणा गरिन् । सानका अध्यक्ष सुवेदीले प्राथमिक शेयरमा लगानी गर्न आफनो तर्फबाट पाँचजना विद्यार्थीलाई प्रतिव्यति १०/१० कित्ता शेयर प्रोत्साहन रुवरुप लगानी गरिदिने घोषणा गरे ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण शर्माले आफ्नो करियरका बारेमा अन्यौलमा रहने विद्यार्थीहरूलाई भविष्यका बाटाहरूबारे परामर्श दिन कार्यक्रम आयोजना गरि सम्पन्न गरेकोमा सानलाई धन्यवाद दिए । ‘यो सम्भवतः हाम्रो जिल्लामा नयाँ प्रयोग हो । अधिकांश विद्यार्थीलाई आफ्नो करियरबारे अन्योल रहेकोले उनीहरुलाई कक्षा १२ उत्तीर्ण पश्चात अध्ययन, रोजगारी वा सेवा प्रवेशमा सहजता होस् भनेर यस्तो कार्यक्रम आयोजना गर्न उत्प्रेरित र सहयोग गरेका हौं, प्रअ शर्माले भने ।
सम्मेलन समापन कार्यक्रमा बोल्दै सिद्धलेक गाउपालिकाका शिक्षा विभागका शिक्षा अधिकृत प्रविनबाबु भट्टरार्ईले जिल्लामा नमुना विद्यालयको रुपमा परिचित यस सत्यवती उच्च माध्यमिक विद्यालयका भु.पु विद्यार्थीहरुको संस्थाले विद्यालयस्तरमा संभवत देशमा नै पहिलो सम्मेलन आयोजना गरी सफलतापुर्वक सम्पन्न गरेकोमा बधाई सहित आगामी दिनमा समेत यस्ता सम्मेलन गर्नेहरुका लागि सहयोग गर्न पालिकाहरुले समेत बजेट निर्माण गर्दा ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रमको समापन समारोहमा आफ्नो मन्तव्य दिने क्रममा सानका अध्यक्ष बद्री सुवेदीले शिक्षा श्रेत्रकै अग्रणी व्यतित्व, शैक्षिक अभियन्ता तथा यस विद्यालयका प्रधानाध्यापक लक्ष्मण कुमार शर्माको मार्गदशन र प्रेरणाले कार्यक्रम शुरुवात गरेको वताए ।
उनले सम्मेलन सम्पन्न गर्न प्रविधिमा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै शिक्षक राजन कुमार श्रेष्ठ, प्रायोजक कम्पनी, बैकिङ्ग पार्टनर, स्थानीय निकाय, संचार माध्यम, पत्रकार, विज्ञ प्रस्तोता, कार्य समितिका सदस्यहरु, सम्मेलनमा भाग लिने विद्यार्थी वर्ग, विद्यालयका अन्य शिक्षक तथा कर्मचारी परिवारलाई पनि धन्यवाद दिए ।
साथै आगामी वर्ष करियर कन्फेरेन्समा उल्लेखित विषयमा कानुन, वित्त व्यवस्थापन, आयकर तथा भ्याट, डिजिटल अनलाइन व्यापार आदि विषयहरु समेत थप गरी सम्मेलन गर्ने जानकारी समेत दिए ।
Views: 0