काठमाडौं । इ–क्याबले यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–सेवा शुभारम्भ गरेको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् ।
यो नेपालकै पहिलो क्यु आर (QR code) कोड सहितको एप्मार्फत दिइने सेवा हो । यसमार्फत सेवाग्राहीले डिजिटल भुक्तानी वा सोझैँ नगद भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माको संयुक्त लगानीमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिका लगायतका विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने जनाइएको छ ।
पासवर्ड सहितको यो एप प्रयोगका लागि २ तहको अधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ, जुन सहज र सुरक्षित् छ । यात्रा सुरु गर्नुअगाडि (Ride verification code) निश्चित गर्नुपर्ने हुन्छ । नयाँ प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दैछ, साथी र परिवारले एसएमएस वा इमेलबाट तत्काल जानकारी प्राप्त गर्न सकिनेछ ।
यो सेवामार्फत ठगिनबाट जोगिने र समान छुट्ने, हराउने या दुर्घटनाबाट समेत सुरक्षित हुने ई–क्याब नेपालका अध्यक्ष दिपक श्रेष्ठले बताए । ‘हामी विदेशमा बसे पनि हामीले सिकेका प्रविधि र कमाइलाई आफ्नै देशमा खर्च र लगानी गरि रोजगारी सृजना गर्ने चाहना भएर यो सेवालाई नाफामुखीभन्दा सेवा मुखीको रुपमा लिएर आएका छौ’ अध्क्षय श्रेष्ठले भने ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नयाँ कम्पनीले गुणस्तरीय र भरपर्दो सेवा दिन सकोस् भन्दै शुभकामना पनि दिए । उनले पर्यटकहरुलाई मात्र नभई नेपालीहरुलाई पनि भरपर्दो सेवा दिएर मन जित्न सुझाव दिए । संघका पूर्व अध्यक्ष जीवा लामिछानेले र गुणस्तरयुक्त सेवा प्रदान गर्दा सफलता निश्चित हुने भन्दै नयाँ कम्पनीलाई गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिए ।
संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले त्रिभुवन विमानस्थल देखि नै राम्रो सेवा दिएर विदेशी पर्यटकहरुलाई नेपालका बारेमा राम्रो छाप छाड्न सुझाव दिए । संघका केन्द्रीय उपाध्यक्ष डा बद्री केसीले प्रवासमा कार्यरत युवा पुस्ताले त्यहाँ सिकेको ज्ञान र सीप नेपालमा लगानी गर्ने सपना साकार हुँदै गइरहेकोमा खुसी ब्यक्त गर्दै नयाँ कम्पनी देश तथा विदेशमा पनि सफल हुन सकोस् भन्ने शुभ कामना दिए ।
कार्यक्रममा नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतान, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा। कपिल रिजाल, नाटाका अध्यक्ष अच्युत गुरागाईं लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, ओसीनीया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारीलगायत अग्रज तथा अभियन्ताहरुको पनि सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डल, वित्तिय निर्देशक रबर्ट विश्वकर्मा, व्यापार निर्देशक सजनी लामाले कम्पनीको विविध पक्षका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष दीपक श्रेष्ठले प्रवासमा रहे पनि गैर आवासीय नेपालीहरुको मन सधैं मातृभूमिप्रति समर्पित रहेको भन्दै सरकारले एनआरएनहरुको लगानी गर्न सहज वातावरण बनाइ दिनुपर्नेमा जोड दिए। उनले २ हजार भन्दा बढी ट्याक्सीहरु आफ्नो कम्पनीसंग आबद्ध रहेको जानकारी गराउँदै शुरुमा बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट सेवा शुरु गर्ने योजना बनाएता पनि विभिन्न कारणले गर्दा राजधानी काठमाडौँबाट सेवा शुरु गरिएको बताए ।
‘ई क्याब’ एक अनलाइन ट्याक्सी सेवा हो जसमा डिजिटल क्यूआर प्रणालीबाट ट्याक्सी सहजै बुक गर्न सकिन्छ । बेलायतमा सञ्चालित ‘उवर’ ‘बोल्ट’ जस्तै अत्याधुनिक सेवा दिने ‘ई क्याब’मा यात्रुको सुरक्षाको निम्ति गाडी कहाँ पुग्यो भनेर ट्रयाक गर्न सकिने फिचर राखिएको छ । यूके तथा अन्य देशहरूबाटै बुक गर्न मिल्ने क्याबमा डिजिटल पेमेन्ट, कार्ड समेत प्रयोग गर्न सकिने सुविधा छन । साथै खल्ती सेवा र नगद भुक्तानी दुवै दिन सकिने कम्पनीले जनाएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार क्याबमा सामान छुटेको अवस्थामा समेत सामानको कुनै चिन्ता गर्न नपर्ने गरि ब्यवस्था मिलाइएको छ । ‘ई क्याब’ एपमार्फत उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा लिन सकिनेछ । एपबाट नजिकको प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ। ‘साथै अरूको लागी पनि क्याब बुक गरी सुरक्षित साथ गन्तब्यमा पुर्याउन सकिन्छ । यात्रा बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउने हुँदा भाडा दरमा ठगिनु पर्नेछैन’, श्रेष्ठले भने ।
उक्त कम्पनीको एप प्रयोग गरी डिजिटल क्यू आर प्रणालीबाट ट्याक्सी बूक गर्न सकिने कम्पनीले जनाएको छ। मोबाइल एप ‘इ(क्याब नेपाल’ डाउनलोड गरी ट्याक्सी सेवा अर्डर गर्न सकिने उक्त कम्पनीले जनाएको छ।
Views: 0