काठमाडौँ(जस)–गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले आफु समेत सदस्य रहेको उच्चस्तरीय समितिको अपमान गर्दै एक पक्षीय रुपमा विवादित प्रतिनिधि नामावली (डेलिगेट्स लिस्ट) निर्वाचन समितिलाई पठाएका छन् । तर परराष्ट्र मन्त्रालय स्रोतले भने आम सहमति विना गराइने कथित निर्वाचनलाई मान्यता नदिने जनाएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को ८१ औं बैठकले संघको दशौँ महाधिवेशन सम्पन्न गर्न गत १५ जनवरीमा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका थिए ।
त्यस यता समितिले विज्ञहरुको उपसमिति गठन गर्नुका साथै विवादित राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई पत्राचार गरी सहमतिको आधारमा सूची पठाउन भनि सकेको थियो । त्यस्तै एमआइएस प्रणालीको दुरुपयोग गरी जापानमा गराइएको निर्वाचनलाई खारेज गरी पुनः निर्वाचन गराउने निर्णय पनि समितिले गरेको छ । गत वर्ष रसिया, न्युजिल्याण्ड लगायतका मुलुकमा वार्षिक साधारण सभा (एजीएम) भै सके पछि पनि नयाँ सदस्यहरु बनाइ थप डेलिगेट्सहरुको नाम पठाएको बारे उपाध्यक्ष सोनाम लामा समेत रहेको समितिले छानबिन गरि रहेको छ ।
यसरी आफुहरुले गरेको धांधली र अनियमितता सप्रमाण बाहिर आउने स्थिति देखेपछि उपाध्यक्ष बद्रि केसी, महासचिव हेम राज शर्मा, सचिव गौरी जोशी लगायतले अध्यक्ष पन्त लाई दबाब दिएर पुरानै विवादित सूची निर्वाचन समितिलाई पठाउन लगाई फेरि निर्वाचनको प्रयास गरेका छन । अध्यक्ष पन्तले विवादित सूचीको आधारमा चुनाव गराउन दबाब दिए पछि निर्वाचन समितिका तत्कालिन प्रमुख अधिवक्ता लिलामणि पौडेलले राजिनामा दिएका थिए । ‘अहिले पनि उच्चस्तरीय समितिको सहमति विना पठाइएको डेलिगेट्स सूचीको आधारमा निर्वाचन गराउने कुनै सम्भावना छैन,’ नाम उल्लेख गर्न नचाहने संघका एक पदाधिकारीले भने ।
यसै बीच परराष्ट्र मन्त्रालयको स्रोतले आम सहमति विना गराइने भनिएको कथित निर्वाचनलाई मन्त्रालयले मान्यता नदिने जनाएको छ । ‘हामीले एनआरएनएको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेका छौं । आम सहमतिका आधारमा प्रतिनिधि विवाद समाधान नगरी गरिने कथित चुनावलाई मन्त्रालयले मान्यता दिंदैन,’ ती अधिकारीले भने । डेलिगेट्स सम्बन्धी विवादका कारण गत वर्ष अक्टोबर महिनामा हुनु पर्ने संघको दशौँ महाधिवेशन तथा चुनाव अहिले सम्म हुन सकेको छैन् ।
यस्तो परिस्थितिमा आफु समेत सदस्य रहेको उच्चस्तरीय समितिलाई सघाउनु पर्नेमा अध्यक्ष पन्त स्वयमले संस्थालाई बर्बादिको बाटोतर्फ अगाडी बढाएको एक अभियन्ताले बताए । उनले निर्वाचन हुने निश्चित भएको अवस्थामा फेरि पहिले जस्तै निर्वाचनको नाटक गरि सँस्थालाई धरासायी बनाउन खोजेको आरोप लगाए ।यता अध्यक्ष पन्तले भने आफुले भनेको समयमा उच्चस्तरीय समितिले काम नभ्याएकोले डेलिगेट्सको लिस्ट मात्रै आफुले पठाएको दाबी गरे । पन्तले अबको निर्वाचन चाहिं हुने निर्वाचन भएको बताए ।
Views: 0