काठमाडौ(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुले संघको संरक्षक परिषद र उच्चस्तरीय समितिलाई पूर्ववत काम गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर संकटमा परेको भन्दै बोलाएको बैठकमा सहभागी ४५ भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुले त्यस्तो आग्रह गरेका हुन् । एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्ने भन्ने निर्णय विधान विपरित भएकाले त्यसको कुनै कानूनी हैसियत नभएको बताए । उनले एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गरे । ‘त्यो पत्र फिर्ता लिनुपर्छ । संरक्षक परिषद् भंग गर्ने निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने ।
संघका पूर्व अध्यक्ष डा. शेष घलेले एनसीसीहरुलाई एकतावद्ध बनाउने, बलियो बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले एनसीसीहरुलाई भत्किएको एकता र सम्बन्ध लाई फेरी पुनर्जीवन दिन आग्रह गरे । उनले एनसीसीहरु स्वायत्त र सार्वभौम हुन भन्दै एनसीसीहरुलाई राम्रो काम जारी राख्न आग्रह गरे । संस्थालाइ एकजुट गर्न आफुहरुले छिट्टै आवश्यक कदम चाल्ने उनले बताए । पूर्व अध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले यो बैठक बोलाएको बताए । ‘यो कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरुको हितको लागि बनाएको संस्था हो । हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस् । कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ । यो जग तपाईंहरुले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ,’ उनले भने ।
संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले यो सत्य र असत्यबीचको लडाई हो भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् चाहिएको बेला खारेज गर्ने भन्ने निर्णयले संस्थालाई विभाजन तर्फ धकेलेको जनाए । ‘“अहिलेको नेतृत्वले गलत काम गर्दै जाने हो भने हामी पनि चुप लागेर बस्न सक्दैनौं । हामीले पनि केही कदम चाल्नै पर्छ,’ आचार्यले भने । बैठकले पारित गरेको चार बुंदे प्रस्तावमा संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरिएको छ । ‘ संघलाई विभाजनको संघारबाट जोगाएर सहमति र सहकार्यको आधारमा दशौँ महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै पहल गर्न पनि यो बैठक प्रमुख संरक्षक डा. शेष घले, संरक्षकज्यूहरु तथा उच्चस्तरीय समितिलाई आह्वान गर्दछ,’ प्रस्तावमा भनिएको छ ।
मार्च २, २०२२ मा बसेको आइसीसी बैठकले एनसीसी अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा तथा जापान लाई सदस्यता शुल्क बुझाउन दबाब दिंदै अध्यक्ष कुमार पन्तको नाममा हजारौ पंजीकृत सदस्यहरुलाई सोझै इमेल पठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एनसीसीहरुलाई दबाब र धम्की दिने काम हरु तत्काल बन्द गर्न बैठकले माग गरेको छ । उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावली उपर दावी विरोध गर्नु भएको र उच्चस्तरीय समितिले गरेको छानबिनले संघको दशौँ महाधिवेशनका लागि मताधिकार प्राप्त प्रतिनिधिहरुको संख्यामा ठूलो फरक देखिएकाले प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन बैठकले आह्वान गरेको छ ।
बैठकले निर्वाचन समितिले सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताको प्रावधान राख्ने जस्ता काम गर्दा निर्वाचनको निस्पक्षता माथि गम्भीर आशंका उत्पन्न भएको भन्दै स्वतन्त्र, निस्पक्ष र धांधलीरहित निर्वाचन सुनिस्चित गर्न आइसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ । भर्चुअल माध्यमबाट बसेको बैठकमा बोल्दै एनसीसी जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग (जापान) संस्था कब्जा गर्ने उद्देश्यले भइरहेका गतिविधिको भ्रत्सना गरे । ‘“एनआरएन राजनीतिक संस्था होइन, तर हामीलाई राजनीति गर्ने मान्छेको आवश्यकता छ किनकी त्यस्तो व्यक्तिले मात्र नेपाल र नेपाल सरकारसँग राजनीतिक पहुँच बनाएर काम गर्न सक्छ र यसले मात्रै एनआरएनए सफल बनाउन सक्छ ।’
एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले एनसीसीहरु विरुद्ध निकै विभेद भएको बताइन् । ‘उहाँहरु विधान अनुसार चल्नु हुँदैन भने विधानमा आगो लगाए हुन्छ । आइसीसीले हाम्रा समस्यालाई समयमै सम्बोधन नगर्दा साना समस्या पनि विकराल हुदै गए,’ उनले भनिन । संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले अहिलेको नेतृत्व संस्था कव्जा गर्ने नियतका साथ अगाडि बढिरहेको बताए । ‘“विशेष महाधिवेशनका नाममा प्रतिनिधि छनोट गर्ने विषय पुरानो कार्यसमितिलाई अधिकार दिइने विषय विधानमा घुसाउनु नै दुर्भाग्य सुरु भएको हो । जुन कुनै ठाउँमा पनि नयाँ कार्यसमितिले प्रतिनिधि छान्ने अधिकार राख्छ । अहिले देखिएको विवादको विषय नै त्यही हो । अहिलेको कार्यसमितिको नेतृत्वले जवरजस्ती गरेर अरुलाई बाहिर लैजान खोजिएको छ त्यो एकदमै गलत छ,’ उनले भने ।
संघका सचिव आर के शर्माले अहिले भएका कमी कमजोरीहरुलाई सच्याएर अघि बढ्न आग्रह गरे । उनले ८२ औं आइसीसीको निर्णयहरु सच्याइनेमा आफु विश्वस्त भएको बताए । ‘एनसीसीहरुलाई भंग गर्ने कुराहरु गर्नुहुँदैन । शुल्कका कुराहरुलाई सबै बसेर मिलाउन सकिन्छ । अहिलेको अवस्था देख्दा ‘बुढी मरि भन्दा पनि काल पल्कियो’ भन्ने कुराहरुमा ख्याल गर्नुपर्छ,’ शर्माले भने । युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यले २ मार्च एनआरएनएको इतिहासमा कालो दिन भन्दै संरक्षक परिषदको खारेजीको बारेमा विधानमा कुनै उल्लेख न भएको बताए । ‘आइसीसीका १४० मध्ये ३०–३२ जनाको उपस्थितिमा संरक्षक परिषद खारेज हुन सक्दैन । हामीले बहिस्कार ग–यौ । म उक्त निर्णयको घोर भ्रत्सना गर्दछु,’ आचार्यले भने । उनले आइसीसीको अर्को मिटिंग आयोजना गरेर अध्यक्ष र महासचिव माथि गम्भीर कारवाही गर्न माग गरे । उनले ५ ओटा एनसीसीलाई दिइएको धम्कि अवैधानिक छ । ‘यो फिल्म सिद्धिने बेलाको अन्तिम लडाइ हो,’ उनले भने ।
एनसीसी इटालीका अध्यक्ष छविलाल कडेलले भने, ‘यो संस्था बचाउनका लागि प्रमुख संरक्षक शेष घले तथा संरक्षक देवमान हिराचनले चाल्ने कुनै पनि कदममा हामी संगै छौं ।’ एनआरएनए अभियन्ता तथा पूर्व मध्यपूर्व संयोजक नरेन्द्र भाटले एकपक्षीय रुपमा निर्णय हरु गर्दै अगाडि बढदा संस्था दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए । उनले त्यस्तो प्रपन्चलाई विफल पार्न एकजुट हुन पनि आह्वान गरे । आइसीसीका मानार्थ सदस्य शनि कुमार ओलीले भने, ‘यस्तो छलफल संघका अध्यक्षले चलाउनु पर्ने थियो । एनआरएनएमा देखिएका विसंगति र विकृतिविरुद्ध हामीले चलाईरहेको संघर्षको लामो कहानी छ । आइसीसीलाई कब्जा गर्ने उद्देश्यका साथ जुन अधिनायकवादी चरित्र देखियो, त्यस विरुद्ध परराष्ट्र सम्म पुग्यौं । साथीहरु उल्टो बाटो हिंडिरहनु भएको छ । उच्चस्तरीय समितिलाई समस्या समाधान नगरेर भाग्ने अधिकार छैन । उच्चस्तरीय समितिलाई भंग गर्ने कुरा कल्पना सम्म गर्न सकिदैन ।’ संस्थापन पक्षले एनआरएनएलाई विसर्जन र विखण्डनतर्फ लगिरहेको उनले बताए । उनले सबै एनसीसीहरुलाई एकतावद्ध हुन आह्वान पनि गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *