एनआरएनएमा चुनावको नाटक : संस्थापनकैले पत्याएनन्

२०७८ फाल्गुन २५, बुधबार २३:२७ गते २०७८ फाल्गुन २५, बुधबार २३:२७ गते २०७८ फाल्गुन २५, बुधबार २३:२७ गते

काठमाडौं -उम्मेदवारी नै नपरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को नयाँ कार्य समिति चयनका लागि जारी गरिएको निर्वाचन कार्यतालिका प्रभावित भएको छ । संघको वर्तमान कामचलाउ कार्य समितिले विवाद समाधान नगरी एकतर्फी रुपमा चुनाव गराउन खोजेपछि त्यसको असर उम्मेदवारी मनोनयनमा परेको छ । कुल ५३ पदका लागि हुने निर्वाचनका लागि मंगलबार सम्म झन्डै २० जनाले मात्रै उम्मेदवारी दिएका छन् ।
गत अक्टोबर २०२१ मा नै कार्यकाल समाप्त भइसकेको कुमार पन्त नेतृत्वको वर्तमान कामचलाउ आइसीसी कार्य समितिले मार्च ७ र ८ लाई उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । संस्थापन पक्षकै आकांक्षीहरुले पनि उम्मेदवारी दर्ता गराएनन् । अपेक्षित रुपमा उम्मेदवारी दर्ता नभएपछि अध्यक्ष पन्तको आग्रहमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय लम्ब्याउँदै शुक्रबार साँझ ५ बजेसम्म पुर्याएको छ ।

प्रक्रियाप्रति नै अविश्वास

जुन विवादका कारण गत अक्टोबर अन्तिम साताका लागि तोकिएको दशौं महाधिवेशन तथा निर्वाचन हुन सकेन, अहिलेसम्म पनि त्यो विवाद ज्युँका त्युँ छ । विवाद समाधानका लागि भएका कुनै पनि प्रयास सफल हुन सकेका छैनन् । विवाद समाधानका लागि गठित उच्चस्तरीय समितिका कुनै पनि सिफारिस आइसीसीको कामचलाउ समितिले स्वीकार गरेन । उल्टै विधानविपरीत उच्चस्तरीय समिति र संरक्षक परिषदसमेत विघटन भएको घोषणा गरिदियो ।
संघमा सदस्यता आवेदन र स्वीकृत गर्ने समयदेखिका विवाद सुल्झिएका छैनन् । मुख्य विवाद महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा छ । विधान विपरीत निर्वाचन नियमावली बनाई संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा पठाएपछि सुरु भएको विवाद झाँगिदै जाँदा चुनाव नै नहुने परिस्थिति सिर्जना भएको हो ।
संघको सचिवालयले ३,६०० बढी महाधिवेशन प्रतिनिधि रहेको सूची तयार पारेको छ । तर, संघका अधिकांश पञ्जीकृत सदस्य रहेका एनसीसीहरुले उक्त सूचीमा असहमति जनाएका छन् र त्यसलाई संशोधन गर्न माग गरिरहेका छन् । संघका प्रमुख संरक्षक एवम् पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिले करिव नौ सय नाम हटाई विवाद सुल्झाउने प्रयास गरेकोमा संस्थापन पक्षकै असहमतिमा त्यसलाई स्वीकार गरिएन । निर्वाचन समितिले पुरानै नामावलीलाई मान्यता दिएर प्रकाशन गरेपछि विवाद फेरि पुरानै अवस्थामा फर्किएको हो ।
निर्वाचन समितिका तत्कालिन संयोजक लीलामणि पौडेलले विवादकै कारण राजीनामा दिएपछि अध्यक्ष पन्तले एमाले निकट अधिवक्ता भीमसेन बन्जारालाई निर्वाचन समिति संयोजक तोके । बन्जाराले पन्तले जे निर्देशन दिए, त्यसलाई पछ्याउँदै निर्वाचन कार्यक्रम अघि बढाउँदै आएका छन् ।
कुनै पनि तहमा सहमति नभई निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढेपछि संस्थापन पक्षकै आकांक्षीहरुले नै उम्मेदवारी दर्ता गराएका छैनन् । वर्तमान कामचलाउ समितिका उपाध्यक्ष बद्रि केसी तथा अमेरिकामा बसोबास गर्ने रबिना थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् तर टिम बद्रीबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका महासचिव हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छैनन् । संस्थापन पक्षले नै अहिलेको अवस्थामा चुनाव हुन नसक्ने आकलन गरी उम्मेदवारी दर्ता नगराएको एक पदाधिकारीले बताए ।
अपेक्षाकृत रुपमा उम्मेदवारी नपरेपछि निर्वाचन समितिले उम्मेदवारी मनोनयनको समय तीन दिन थप गरेको छ भने मतदान पनि तीन दिन पछि सारेको छ । संशोधित तालिका अनुसार मार्च २४ र २५ मा मात्रै मतदान हुने छ ।

बहुसंख्यक सदस्य प्रक्रियाबाहिरै

वर्तमान कामचलाउ कार्य समितिले निर्वाचन समितिमार्फत निर्वाचन कार्यक्रम अगाडि बढाए पनि संघका बहुसंख्यक पञ्जीकृत सदस्य भने निर्वाचन प्रक्रियाभन्दा बाहिरै छन् । सबैभन्दा धेरै सदस्य रहेका अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले महाधिवेशन प्रतिनिधिको सूची नसच्याएसम्म निर्वाचनमा सहभागी नहुने बताइसकेका छन् । ती देशले सदस्यहरुको सदस्यता शूल्कसमेत आइसीसी सचिवालयलाई पठाएका छैनन् ।
महाधिवेशन प्रतिनिधिहरुको नामावली सच्याएपछि मात्रै सदस्यता शुल्क बुझाउने र नेतृत्व चयन प्रक्रियामा सहभागी हुने ती एनसीसीहरुको सर्त छ । यी चार एनसीसीमा मात्रै आधा भन्दा बढी सदस्य छन् । अर्को बढी सदस्यता रहेको जापानको निर्वाचन नै विवादित छ । जापानमा पुनः चुनाव गर्नुपर्ने अवस्था छ । समग्रमा ७० प्रतिशत पञ्जीकृत सदस्य हालको प्रक्रियामा सहभागी नरहने काठमाडौँस्थित केन्द्रीय सचिवालयले जनाएको छ ।
आइसीसीकै अधिकांश पदाधिकारीहरुले पनि विवाद समाधान नगरी एकपक्षीय रुपमा चुनाव गराउन खोजिएको र यो मान्य नहुने बताइसकेका छन् । उपाध्यक्ष सोनाम लामा तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले त विज्ञप्ति नै सार्वजनिक गरेर हाल जारी एकपक्षीय निर्वाचन प्रक्रिया मान्य नहुने बताएका छन् । उच्चस्तरीय समितिले तयार पारेको सूचीका आधारमा मात्रै निर्वाचन हुनुपर्ने उनको तर्क छ ।

सदस्यता नवीकरण कसरी ?

संघको विधान अनुसार हरेक २ वर्षमा सदस्यता नवीकरण गर्नुपर्छ । आइसीसीदेखि जुनसुकै तहका समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुको पनि सदस्यता नवीकरण हुनुपर्छ । उनीहरुको सदस्यता जुन एनसीसीमा छ, त्यहीँबाट मात्रै नवीकरण हुने प्रावधान छ । ती एनसीसीहरुले नवीकरण गरी त्यसबापतको शुल्क आइसीसीको सचिवालयमा बुझाएपछि मात्रै आधिकारिक रुपमा सदस्यता नवीकरण हुने प्रावधान छ । सदस्यता नवीकरण भएका व्यक्तिहरु मात्रै चुनावी प्रक्रियामा सहभागी हुन पाउने छन् ।

यो प्रावधान अनुसार अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र जापानमा पञ्जीकृत सदस्यता भएका कुनै पनि व्यक्तिले अहिलेको निर्वाचनमा सहभागिता जनाउन पाउने छैनन् । बेलायतमा सदस्यता रहेका महासचिव हेमराज शर्मा, जापानमा सदस्यता रहेका कोषाध्यक्ष महेश श्रेष्ठ, अमेरिकाकी सदस्य रबिना थापा, बेलायतमै सदस्यता रहेका रामशरण सिम्खडा लगायतले उम्मेदवारी नै दिन पाउँदैनन् । यीमध्ये थापाले अध्यक्षमा र सिम्खडाले सचिवमा उम्मेदवारी दिएका छन् । काुननतः उनीहरुको उम्मेदवारी नै रद्द हुने छ ।

बहुमत पक्षको चाहनाः संस्था विभाजित नहोस्

संस्थामा विधान कार्यान्वयन र संस्थागत निर्णयको माग गर्दै आइरहेको बहुमत पक्षले अल्पमतमा रहेको संस्थापनपक्षले नै जबरजस्ती संस्था विभाजन गर्न खोजेको आरोप लगाएको छ ।
अध्यक्ष कुमार पन्तले एकपक्षीय रुपमा चुनावी प्रक्रिया अगाडि बढाएको र यसलाई नरोकिए संस्था गम्भीर दुर्घटनामा फस्ने बहुमत पक्षको भनाइ छ ।’ यो प्रक्रियामा चुनावमा सहभागी हुन सकिँदैन, विवाद समाधान गरेर नयाँ प्रक्रिया सुरु गरिनुपर्छ,’ बहुमत पक्षका एक अभियन्ताले भने ।
संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुल आचार्यले पनि विवाद समाधान गरेर मात्रै चुनावी प्रक्रिया सुरु गर्नुपर्ने बताए । ‘विवादका बीच चुनाव हुन सक्दैन, चुनावको नाटक मात्रै गर्न सकिन्छ,’ आचार्यले भने, ‘नाटक गर्दा संस्था दुर्घटनामा फस्छ, यसको जिम्मेवारी संस्थापन पक्षले लिनुपर्छ ।’
संस्थालाई व्यक्तिगत इच्छा र स्वार्थमा उपभोग गर्न खोज्ने केही पदाधिकारीका कारण अहिको अवस्था आएको उनको टिप्पणी छ । ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठियो भने संस्था जोगिन्छ,’ उनले भने ।

 

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *