काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का कामचलाउ अध्यक्ष कुमार पन्तले वार्ताको नाममा झुलाउने र झुक्याउने रणनीति अपनाएका कारण दशौँ महाधिवेशनलाई ’एकताको महाधिवेशन’ बनाउने प्रयास असफल भएको छ । “हामीले एनआरएनए न फुटोस् भनेर हदैसम्म प्रयास गरेको हो, तर अध्यक्ष पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मालगायत वार्ताका लागि इमान्दार नभएकाले वार्ता शुरु नै भएन,“ सहमतिको लागि प्रयास गर्दै आएका एक अभियन्ताले भने ।
एनआरएनए भित्र सानो समूहलाई प्रतिनिधित्व गर्ने संस्थापन पक्ष र कुल आचार्यले नेतृत्व गरेको मूलधार बीच वार्ता गर्न प्रयास गर्दै आएका कोषाध्यक्ष महेश श्रेष्ठले वार्ता असफल भएको स्वीकार गरे । ‘एनआरएनए नफुटोस् भन्ने हाम्रो एक मात्रै चाहना हो, तर त्यो सफल हुन सकेन । म उम्मेदवारी दिंदैन,’ श्रेष्ठले भने । सहमतिको लागि प्रयास गर्ने भन्दै नोमिनेशन गर्ने समय शुक्रबार, २७ फागुन, सम्म बढाइएको थियो तर उक्त समय सहमति भन्दा पनि उम्मेदवारको संख्या बढाउन मात्रै थपिएको एक अभियन्ताले बताए ।
‘वार्ता र सहमतिको लागि पहल गर्न सक्ने संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गरिएको भन्ने आइसीसीको गत २ मार्चको बैठकको निर्णय नै संस्था फुटाउने आधार बन्यो । यसको जिम्मेवारी कामचलाउ अध्यक्ष पन्तले लिनु पर्छ,“ आइसीसी सदस्य चिन्तामणि सापकोटाले भने । उनले संस्थामा सधै थिचोमिचो सहेर बस्न नसकिने भन्दै अब विधानसम्मत हिसाबले निकास खोज्नु पर्ने बताए । एनआरएनएको गत वर्ष निर्वाचित ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ४५ भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गरिएको भन्ने गत २ मार्चको बैठकको निर्णयको कुनै कानूनी हैसियत नरहेको जनाएको थियो । उक्त बैठकले प्रमुख संरक्षक शेष घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट पनि दिएको थियो ।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक
Views: 0