काठमाडौं, २७ फागुन – बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई महानगरीय अपराध महाशाखा
मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका-६
ठेगाना भएका २५ वर्षीय निसम बिक, काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा
उपमहानगरपालिका-१७ ठेगाना भएका ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने
गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ ठेगाना भएकी ३६ वर्षीया शान्ता कोईराला
दवाडी रहेका छन् । निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई शुक्रबार प्रहरीले पक्राउ
गरेको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले
मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र गत मंसिर २१ गतेको फैसलाले
शान्तालाई ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो भने निसमको नाममा
बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महानगरीय अपराध महाशाखा
मिनभवनबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौं मनमैजुबाट र निसमलाई
बनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो ।
मुन्दिप र शान्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश
गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं
पठाइएको छ ।
Views: 0