‘डमी उम्मेदवार’ खडा गरेर अफवाह फैलाउने प्रयास – (एनआरएनए) उपाध्यक्ष लामा

२०७८ चैत्र २, बुधबार २१:५१ गते २०७८ चैत्र २, बुधबार २१:५१ गते २०७८ चैत्र २, बुधबार २१:५१ गते

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचनलाई लिएर केही व्यक्तिहरुले भ्रम फैलाउने काम सुरु गरेको भन्दै महाधिवेशन तयारी समितिले कुनै पनि भ्रममा नपर्न र यही मार्च २२ देखि २५ सम्म अर्थात चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुन आग्रह गरेको छ ।

संघमा विवाद भई महाधिवेशन हुन नसकेपछि प्रमुख संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै गत साता चैत ८—११ गतेसम्म भौतिक उपस्थितिमा नै काठमाडौंमा हुने गरी महाधिवेशन तोकेका थिए । सोही कार्यतालिका अनुसार महाधिवेशन हुने र सोही क्रममा निर्वाचन प्रक्रिया पनि सुरु हुने तयारी समितिले जनाएको छ ।

महाधिवेशनका लागि उपाध्यक्ष सोनाम लामाको संयोजक रहेको तयारी समिति गठन गरिएको छ भने ६ सदस्यीय निर्वाचन समिति पनि गठन भएको छ । यसअघि संघको कामचलाउ आइसीसीका अध्यक्ष कुमार पन्तले गठन गरेको निर्वाचन समितिलाई प्रमुख संरक्षक घलेले पुनर्गठन गरेका हुन् । भीमसेन बन्जारा नेतृत्वको निर्वाचन समिति खारेज गर्दै घलेले विश्व बरालको संयोजकत्वमा निर्वाचन समिति बनाएका छन्। बराल संयोजकत्वको निर्वाचन समितिले गराएको निर्वाचन मात्रै आधिकारिक हुने छ ।

जनासवालसंग कुरा गर्दै उपाध्यक्ष लामाले झन्डै ८० प्रतिशत एनसीसीहरुले दिएको म्यान्डेट तथा संघको विधान अनुसार प्रमुख संरक्षक शेष घलेले बोलाएको महाधिवेशन नै आधिकारिक भएको बताए। “त्यसैले संस्थाको लोगो, लेटरहेड दुरुपयोग गरियो भन्ने आरोप हास्यास्पद छ। हामीले हाम्रा सदस्यहरुको डेटा दुरुपयोग गर्ने कुरा सोच्न पनि सक्दैनौं, जबकि अहिलेका केही उम्मेदवारहरुले डेटा दुरुपयोग गरी पटक पटक इमेल पठाएको सबैलाई थाहा छ,” उनले भने ।

अफवाह फैलाउन ‘डमी उम्मेदवार’

यसै बीच संस्था कब्जा गर्ने उद्देश्यले विवाद समाधान नै नगरी झन्डै १,००० फर्जी मतदाताहरु समावेश गरेर एकपक्षीय रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कामचलाउ समितिले डमी उम्मेदवार खडा गरेर निर्वाचनको नाटक गरेको छ ।

बहुसंख्यक एनसीसी र सदस्यहरुले उक्त निर्वाचन प्रक्रियामा भाग नलिएपछि प्रतिस्पर्धा देखाउन केही पदमा डमी उम्मेदवार खडा गरिएको छ भने अधिकांश पदमा सर्वसम्मतको नाटक मन्चन गरिएको छ । अध्यक्षमा उम्मेदवारी दिएकी भनिएकी अमेरिकाकी रबिना थापा, महासचिवमा उम्मेदवार दिएको भनिएका बेलायतका विनय अधिकारी लगायतका व्यक्तिहरुको उम्मेदवारी केवल देखाउनका लागि मात्रै भएको स्पष्ट छ । उम्मेदवारी दिएका कतिपयको त सदस्यता नै नवीकरण गरिएको छैन । सम्बन्धित एनसीसीहरुले सदस्यता शुल्क नबुझाएपछि अधिकांश उम्मेदवार भनिएकाहरु नै गैर सदस्य भएका छन् ।

गैर सदस्य उम्मेदवार

संघको सदस्यता हरेक २ वर्षमा नवीकरण गर्नुपर्छ । सम्बन्धित एनसीसीले तोकेको समयभित्र आवेदन दिई तोकिएको शूल्क बुझाई सो शूल्क एनसीसीले आइसीसी सचिवालयमा दाखिला गरेपछि मात्रै सदस्यता नवीकरण हुन्छ ।

तर, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान लगायतका देशमा रहेका एनसीसीमा सदस्यता रहेका व्यक्तिहरुको सदस्यता शुल्क आइसीसी सचिवालयमा दाखिला गरिएको छैन । ती देशले महाधिवेशन प्रतिनिधिको विवाद समाधान नभएसम्म सदस्यता शूल्क नबुझाउने अडान राखेका छन् । प्रमुख संरक्षक घलेले तोकेको समितिलाई मात्रै ती देशले सदस्यता शूल्क बुझाउने छन् । घलेले आह्वान गरेको समितिले गराउने महाधिवेशन मात्रै वैधानिक हुने उनीहरुको तर्क छ ।

त्यसैले रबिना थापा, हेमराज शर्मा, गौरी जोशी, रामशरण सिंखडा लगायतको उम्मेदवारी स्वतः अवैध छ । एकपछि अर्को अवैधानिक काम गर्दै आइरहेको कामचलाउ समितिले उम्मेदवारीका नाममा पनि अवैध कामको श्रृंखलालाई दोहोर्याएको छ ।

‘सूर्यमुखी’ को चर्चा

गैर राजनीतिक भनिए पनि संघका केही पदाधिकारीका कारण गैर आवासीय नेपाली संघ यसपाली नराम्ररी राजनीतिक दाउपेचको सिकार भएको छ । खासगरी केपी शर्मा ओली पक्षीय नेकपा एमाले समर्थित संघका अभियन्ताहरुले संस्थालाई राजनीतिको भासमा फसाएका हुन् ।

अध्यक्ष कुमार पन्त र उपाध्यक्ष बद्रि केसीको योजनामा संस्थालाई एमालेकरण गर्न खोजिएको छ । एमालेमा आस्था नराख्ने अभियन्तालाई सम्बन्धित एनसीसीबाटै रोक्ने र रोक्न नसकिए आइसीसीमा प्रवेश गर्नै नदिने चालबाजी अनुसार विधानविपरीत हर्कत गरिएको संघकै अभियन्ताहरुको बुझाइ छ । एमाले अध्यक्ष ओली रसियामा बसोबास गर्ने बद्री केसीलाई जसरी पनि अध्यक्ष बनाउन चाहन्छन् । पन्तले पनि त्यसैका लागि वातावरण बनाइरहेका छन् । पद र अन्य सुविधा पाउने लोभमा अमेरिकाका रबिना थापा र गौरी जोशी तथा बेलायतका हेमराज शर्मा पनि पन्त र केसीको मतियार बनेका छन् ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *