काठमाडौं, ३ चैत
रौतहट, वृन्दावन नगरपालिका-६ ठुलो हर्षाहामा बा.१७ च ६१६३ नम्बरको पिक-
अप गाडीको ठक्करबाट ना.४३ प ७३२७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको
बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरूमा वृन्दावन नगरपालिका-६ हर्षाहा बस्ने २७
वर्षीय हरि कुमार ठाकुर र ३७ वर्षीय जितेन्द्र प्रसाद पटेल रहेका छन् । दुर्घटनामा गम्भीर
घाइते भएका हरि कुमारको हर्षाहास्थित अमन हस्पिटलमा उपचारको क्रममा र जितेन्द्र
प्रसादको सोही हस्पिटल हुँदै थप उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु
भएको हो । चपुरबाट गरुडातर्फ जाँदै गरेको उक्त पिअपले सडक छेउको पान पसलमा र
पसल अगाडि पार्किङ गरेको उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअप गाडीका
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१८ स्थित मोती चोकमा हाल नम्बर
नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने केशब थापा मगरको छोरा ४ वर्षीय
रोहन थापा मगरको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका
उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने
मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।
कपिलवस्तु, बिजयनगर गाउँपालिका-६ खडैचामा ना.१ ख ७४५३ नम्बरको टिपरले
लु.५४ प ९०८८ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल
चालक सोही गाउँपालिका-७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा
मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0