काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीका मानार्थ सदस्य शनि कुमार ओलीले संघको संस्थापन पक्षले सहमतिको भ्रम छरेर महाधिवेशन भांड्न खोजी रहेको आरोप लगाएका छन्।जनसवालसंग कुरा गर्दै ओलीले भने, “हामी सहमति विरोधी होइनौं। तर प्रतिनिधि विवाद समाधान नगरेर, कथित निर्वाचन गराएर अहिले आएर सहमतिको कुरा गर्नु महाधिवेशन भांड्ने षड्यन्त्र मात्रै हो। “उनले आइसीसीको ८२ औं बैठकले गरेका भनिएका निर्णयहरु खारेज गरेर मात्रै वार्ता र सहमतिको आधार तयार हुन सक्ने बताए।संघका कामचलाउ अध्यक्ष कुमार पन्तले विधान विपरित बोलाएको ८२ औं बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गर्ने लगायतका निर्णयहरु गरेको बताइएको थियो।
तर बहुसंख्यक राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको गत फागुन २२ गते बसेको बैठकले उक्त निर्णय विधान सम्मत नभएको भन्दै त्यसको कुनै हैसियत नहुने बताएको थियो । उनीहरुले सर्वसम्मत निर्णय गर्दै संघका प्रमुख संरक्षक शेष घलेलाई संस्थालाई जोगा उन र एकजुट राख्न आवश्यक कदम चल्न आग्रह गरेका थिए।
सोही म्यान्डेट तथा संघको विधानले दिएको अधिकार प्रयोग गरी प्रमुख संरक्षक घलेले २२-२५ मार्च २०२२ मा काठमाडौँमा संघको दशौँ महाधिवेशन आह्वान गरेका छन् ।”हामी संस्थापन पक्ष लगायत सबै साथीहरुलाई प्रमुख संरक्षक घलेले बोलाउनु भएको दशौँ महाधिवेशनमा भाग लिएर उक्त महाधिवेशनलाई एकताको महाधिवेशनमा बदल्न आग्रह गर्दछौं। अहिले आएर कोठे बैठक र गोप्य वार्ताको कुनै अर्थ छैन,” मानार्थ सदस्य ओलीले भने।यसै बीच दशौँ महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले दशौँ महाधिवेशनको तयारी भव्य रुपमा भै रहेको जनाएका छन्। उनले संसारभरि बाट डेलिगेट्सहरु आउने क्रम जारी रहेको भन्दै सबै एनआरएन अभियन्ता, अग्रज तथा डेलिगेट्सहरुलाई काठमाडौँ आउन आह्वान पनि गरेका छन्।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक
Views: 0