काठमाडौं – गैर आवसिय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै गैरआवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा सम्बोधन सहकार्य र समन्वय गरिदिनुहुन आग्रह गरेका छन्।पूर्व प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोविडको बेलामा गरेको सहयोग भुमिका र नेपाल बाहिर गरेका गतिविधीप्रति खुलेरै प्रशंसा गरेका थिए।
सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक आफ्नै पाला देखिनै संसदीय प्रक्रियामा रहेको बताउँदै अहिले ढिला भइसकेको र यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिएका थिए ।
गैर आवासीय नेपाली संघले १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणकोलागि नेपाल सरकार संग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा अड्चन फुकाउनका लागि सहजीकरण, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगार बाट प्राप्त विप्रेषण सटहीमा प्रति अमेरिकन २डलर संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुनेगरी पहल गर्न सहजीकरणका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संग अनुरोध गरेका छन्।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक
Views: 0