काठमाडौं, ३० चैत
ओखलढुङगा, मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्दिचरण राजमार्गमा
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरतर्फ जाँदै
गरेको बा.१७ च १०९४ नम्बरको बोलेरो गाडी सडकबाट १ सय ५० मिटर तल खसेर
बुधबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ ।
दुर्घटनामा प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमै र
प्रहरी जवान रूपन बिष्टको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु
भएको हो । साथै दुर्घटनामा घाइते भएका ४ जना प्रहरी कर्मचारी र बोलेरो चालकको
नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
अर्घाखाँची, पाणिनी गाउँपालिका-८ अर्बखास्थित सडकमा लु.२ त ९३७१ नम्बरको
ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरको चक्काले किच्दा सोही ठाउँ बस्ने रोम बहादुर कुमालकी
छोरी १२ वर्षीया नहमुना कुमालको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङ, छबिसपाथिभेरा गाउँपालिका-१ भाडेबजारस्थित सडकमा से.१ ज ६७३
नम्बरको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेर बुधबार बिहान
दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बामनडाडा बस्ने ५० वर्षीय जय बहादुर सार्कीको
मृत्यु भएको छ ।
मोरङ, रतुवामाई नगरपालिका-२ डोरीयास्थित खेतमा को.२ त ९७ ४४ नम्बरको
ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीया लेप्का मियाँनीको बुधबार बिहान मृत्यु
भएको छ । खेतमा गहुँ माड्ने क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको
रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0