केही गर्छु भनेर जोश जाँगर बोकेर एनआरएनएको अभियानमा छु – नवनिर्वाचित अध्यक्ष कुल आचार्य

२०७९ बैशाख २, शुक्रबार २०:१६ गते २०७९ बैशाख २, शुक्रबार २०:१६ गते २०७९ बैशाख २, शुक्रबार २०:१६ गते

बैशाख २ २०७९ – गैरआवासीय नेपाली संघको हालै ललितपुरमा सम्पन्न दशौं महाधिवेशनले सहमतिको आधारमा तीन जना अध्यक्ष चयन ग-यो। यस अघि कहिल्यै प्रयोग नगरिएको बहुपदीय प्रणालीको संघ भित्र र बाहिर पनि आलोचना भै रहेको छ। रातारात संस्थापन पक्षसंग सहमति गरेको भनी नवनिर्वाचित अध्यक्ष कुल आचार्यको पनि आलोचना भै रहेको छ। यसै सेरोफेरोमा संघका कार्यकारी अध्यक्ष आचार्यसंग गरिएको कुराकानी :

कुलजी, बधाई छ । गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्ष हुनुभयो । एउटा सपना पूरा भयो । के भन्नुहुन्छ ?

केही गर्छु भनेर जोश जाँगर बोकेर एनआरएनएको अभियानमा छु । युके, युरोप लिड गर्दा, उपाध्यक्ष हुँदा पनि केही गर्ने इच्छा थियो । अध्यक्ष भएपछिको काम अघि बढाउनेछु । केही गर्ने चाहना छ ।

अधिवेशनको बीचमा केही उतारचढाव भयो । यसपटक महाधिवेशनको अन्तिममा सहमति भयो । तर असन्तुष्टि चुलिएकै छन्। किन ?

संस्थाभित्र थोरै होइन, धेरै नै उतारचढाव आएको थियो । गत अक्टोबरमा चुनाव हुनु पर्थ्यो , त्यो हुन सकेन । जुन डेलिगेट्सको समस्या थियो समाधान हुन सकेन । समस्याको समाधान हुने नदेखिएपछि संस्थालाई अनिर्णयको बन्दी बनाउन हुन्न भनेर हामीले आम सहमतिले नेतृत्व चयन गर्यौं । हिजो भएका सबै तीतामीठा कुरा मेटाएर अगाडि बढौं भन्ने हो ।

सहमतिको क्रममा संस्थामा प्रमुख संरक्षक शेष घले हुनुहुन्न नि ? यसलाई कसरी लिने ?

गैर आवासीय नेपाली संघमा प्रमुख संरक्षक शेष घलेले यो अभियानमा उल्लेखनीय योगदान दिनुभएको छ । उच्च स्तरीय समितिको संयोजकको रुपमा समस्याको समाधान गर्न उहाँले निर्वाह गर्नु भएको भूमिका प्रशंसनीय छ। संस्थालाई अगाडि बढाएर जानका लागि सहमति नगरेमा एनआरएनए फुट्छ कि भन्ने निश्कर्षमा पुग्यौं । संस्थालाई मिलाएर लगौं भनेर उहाँलाई अनुरोध पनि गरेका थियौं । हामीले गल्ती कमजोरी सुधारौं । सँगै अगाडि बढौं भन्ने हिजो पनि थियो, आज पनि छ, भोलि पनि हुनेछ ।
तपाइँहरु तीनजना अध्यक्ष हुनुहुन्छ । कार्यकाल पनि ६ महिना मै सकिन्छ । के भन्नुहुन्छ डेलिगेट्स साथीहरुलाई ?
संसारभर भएका साथीहरुलाई आग्रह गर्छु, कामको दौरानमा तलमाथि भएको भए म माफी पनि माग्न चाहन्छु । संस्थालाई जीवित राख्न, संसारभरका नेपालीलाई एक ठाउँमा राख्न सोच्नुपर्ने बेला आएको छ । कतै न कतै साथीहरु अलमलमा हुनुभएको हुनसक्छ । यो अभियानलाई अगाडि लैजान सबैको सुझाव, सल्लाह आवश्यक छ । पक्कै पनि ३ जना अध्यक्ष छौं । ठूलो टिम छ, सबै उत्साही साथी हरु हुन्छ, जिम्मेवारी पाए काम गरेर देखौन उत्सुक हुनु हुन्छ। अझै पनि केही गरेनौं भने माफी पाइने छैन । हामीले दशौं महाधिवेशन सकेर पशुपतिनाथमा पुगेर रुद्राक्ष माला लगाएर प्रतिबद्धता जनाएका छौं । पक्कै पनि घोडा चढ्ने लड्छ भनेजस्तै केही गल्ती कमजोरी भए पनि सुधारेर अगाडि बढ्नुपर्छ ।

पशुपतिमा पुगेपछि बृद्धाश्रम बनाउने घोषणा किन गर्नुभयो ?
महाधिवेशन सकिएको भोलिपल्ट सोमबार एकादशीको दिन थियो । हामी करिब ७० जना साथीहरु पशुपतिनाथ मन्दिर पुग्यौं । पशुपतिनाथको दर्शन गर्न जाँदा आशिर्वाद मागें । पशुपतिनाथकै माला लगाएर बैठक बसेका थियौं । त्यसै बेला पशुपतिमा एक सय कोठाको सुविधा सम्पन्न भवन बनाउने अठोट गरें । हामी सबै विदेशमा छौं । पहिलेजस्तो बुबाआमा स्याहार गर्ने पनि छैनन् । बुबाआमाहरु एकैठाउँमा बस्ने, रमाउने, योग गर्ने भवन बनाउनेछौं । बृद्धाश्रम बनाउनका लागि ४ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भै सकेको छ । पशुपति क्षेत्र विकास कोषसँग ४ पटक बैठक बस्यौं । संस्कृति तथा पर्यटन मन्त्रीज्यूसँग पनि कुरा गरेका छौं । पशुपति क्षेत्रमै जग्गा दिने बारे निर्णय हुँदैछ । पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउन पाउनेछौं । त्यसमा पनि सबै दाताहरुको नाम लेखिनेछ । नेपाल पुग्दा बाआमासँग भेटेर पशुपतिनाथको दर्शन गर्न पाउनेछौं । यो अवसर नगुमाऔं पनि भन्न चाहन्छु ।

महाधिवेशन सकिना साथ तपाईंहरु राजनीतिक भेटघाटमा व्यस्त हुनु भयो। किन ?

गैरआवासीय नेपाली नागरिकता, विदेशमा काम गर्ने नेपाली कामदारहरुको सामाजिक सुरक्षा लगायका विषयमा सबै प्रमुख दलहरुको साथ र सहयोग हामीलाई चाहिन्छ। यस पटक सबै प्रमुख दलहरुले गैरआवासीय नेपाली संघ फुट्नु हुंदैन, एकजुट रहनु पर्छ भनेर भन्नु भएको थियो। संस्था भित्रको विवाद्द मिलाएर हामी एक भएका छौं भन्ने संदेश दिन र गैरआवासीय नेपालीका मुद्दामा दलहरुको सहयोग जुटाउन हामीले लगभग सबै दलका नेता, तथा मन्त्रीज्यूहरुसंग भेट्यौं । यसलाई सद्भाव भेट (courtesy call ) पनि भनिन्छ। त्यसैले यसलाई अन्यथा नलिइ दिनु हुन म साथीहरुलाई अनुरोध गर्दछु।

एनआरएनहरुलाई डलर एकाउन्ट खोल्न तपाईंले आह्वान गरिरहनु भएको छ। किन?
हामीले आह्वान गरेका र्छौं सबै एनआरएनहरुलाई नेपालमा डलर एकाउन्ट खोलिदिनुस् भनेर । निर्ब्याजे विदेशमा बसेको पैसा नेपालमा राखेर केही ब्याज प्राप्त हुने, फाइदा हुने कुरा त छंदै छ , त्यो भन्दा बढी हामीले जन्मभूमिको गुन पनि तिर्नुछ । मैले यो विषय लामो समय देखि उठाउंदै आएको छु। नेपाल सरकारले यसलाई तुरुन्त अगाडी बढाएकोमा धन्यवाद पनि दिन चाहन्छु। विगतमा प्रवासमा रहेका भारतीय तथा पाकिस्तानीहरुले आफ्नो मुलुकलाई सघाएको हामीले देखेका छौं। नेपालमा अहिले वैदेशिक मुद्रा संचितिमा चाप परिरहेको बेला हामीले गरेको सहयोगले देशलाई नै संकटमुक्त गर्न मदत पुग्ने हाम्रो विश्वास छ । त्यसैले नेपालमा डलर एकाउन्ट खोल्न एउटा अभियान नै चलाउन म एनआरएनएका सबै एनसीसीहरु, अग्रज तथा अभियन्ताज्यूहरुमा अपिल गर्दछु।

 

 

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *