काठमाडौं, ९ वैशाख – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका चार जना प्रहरी
नायव महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक
समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ८ गतेको निर्णयले प्रहरी
वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नल प्रसाद
उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी
महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव
महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व
संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचन भयरहित,
निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति
भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उहाँले निर्देशन दिनुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी
नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र
सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने
प्रतिवद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू
लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
Views: 0