काठमाडौं, ११ वैशाख
दाङ, घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट ४ सय ८० मिलिग्राम
ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१३ बस्ने २९
वर्षीय दिपक वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मुसलवान डाँडामा लागूऔषध
ब्राउन सुगर बेच विखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय
घोराहीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट १ केजी अवैध लागूऔषध गाँजा
सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही
महानगरपालिका-१४ काजीपोखरी बस्ने २५ वर्षीय सरोज कुमाल र सोही ठाउँ बस्ने लमजुङ घर भएका
२३ वर्षीय सुबाष गुरुङ रहेका छन् । तनहुँबाट पोखरातर्फ आँउदै गरेको ग.२३ प ३०१ नम्बरको
स्कुटरलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार
उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-६ मिलनटारबाट करिब १५ केजी चरेश जस्तो देखिने वस्तु
शनिबार राति प्रहरीले बरामद गरेको छ ।
मिलनटारबाट आदममघाटतर्फ आँउदै गरेको प्र.३-०२-०१२ प ९३८९ नम्बरको मोटरसाइकललाई
अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध
फेला पारी मोटरसाइकल नियन्त्रणमा लिएको हो । हाल फरार रहेका मोटरसाइकल चालकलाई
प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0