पर्सा – वीरगञ्ज महानगरपालिकामा १ सय ५४ जना जनप्रतिनिधिका लागि ९ सय १० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलवार करिव १२ बजेसम्म सञ्चालन भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख,उपप्रमुख, वडाध्यक्ष,वडासदस्य,महिला सदस्य र दलित सदस्यमा गरेर ९ सय १० जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्ले जनाएका छन् । महानगर प्रमुखका लागि ३० जना,उपप्रमुखमा १० जना,वडाध्यक्षमा २ सय २ जना पुरुष र ५ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । साथै खुल्ला सदस्यमा ३ जना महिला सहित ३ सय ५१ जना, महिला सदस्यमा १ सय ७१ र दलित महिला सदस्यमा १ सय ४१ जनाको उम्मेदवारी दर्ता भएको काफ्ले जनाएका छन् ।
भोली बुधवार ५ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता नलिए प्रमुख/उपप्रमुख सहित १ सय ५४ जना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका लागि ९ सय १० जना उम्मेदवार विच प्रतिष्पर्धा हुनेछ । महानगर प्रमुखका लागि गठबन्धनको तर्फवाट जनता समाजवादी पार्टी,नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी,बहुजन पार्टी,नेपाल सद्भावना पार्टी,विवेकशील साझा पार्टी र स्वतन्त्र सहित ३० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । ३२ ओटा वडा रहेको वीरगञ्ज महानगर प्रत्यक्ष निर्वाचित र कार्यपालिका सदस्य सहित १ सय ६२ जनाको पुर्ण नगरकमिटी रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जनाएका छन् । ‘२०७४ को निर्वाचनमा महानगरमा ६ ओटा राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए,अहिले कतिले गर्छन् भन्न सकिदैन्’ पाण्डेले भने ।
Views: 0