काठमाडौं, १० जेठ – सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध
लागूऔषध गाँजा सहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा
मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका-
१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका-१३ बस्ने १७ वर्षीय
किशोर र सोही नगरपालिका-१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् । बिशेष सूचनाको
आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर
तलासी गर्दा प्लाष्टिकको बोरामा रहेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ
गरेको हो । साथै अनटेष्ट लेखिएको मोटरसाइकल र प्रदेश २-०३-०११ प ४२८० नम्बरको
मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
सुनसरी, गढी गाउँपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७ सय
ट्याब्लेट, नाईट्रोसन १ सय ट्याब्लेट र एकसय एमएलको डाईलेक्स डिसी २० बोतल सहित
सोही ठाउँ बस्ने २७ वर्षीय रोशन मेहेतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला
पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0