काठमाडौं, २२ जेठ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी
कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका
लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा
आइतबार आयोजित कार्यक्रममा निर्देशन दिनुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले प्रहरी कार्यालयहरूमा विनियोजित बजेट
तोकिएको मापदण्ड अनुरूप संचालन भए नभएको प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी
पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक
खर्चको लेखा दुरूस्त राखे नराखेको लगायतका विविध आर्थिक बिषयमा अनुगमन गर्नुपर्नेमा
उहाँले जोड दिनुभयो ।
स्थानीय तह निर्वाचन, २०७९ मा बजेट संचालन गर्ने नेपाल प्रहरीका विभिन्न
कार्यालयहरूलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग
सम्बन्धित ऐन/नियम तथा नेपाल प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र
परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पादन भएको नभएको,
म्यादी प्रहरी नियुक्ति तथा सुविधा सम्बन्धी, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन
अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली
परिचालन गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश
प्रहरी कार्यालयहरू तथा सो मातहतका सबै जिल्ला प्रहरी कार्यालयहरूमा खटिइ जान लागेका
प्रहरी अधिकृत सहितका ८ वटै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी
प्रतिवेदन पेश गर्नुपर्ने छ ।
विशेष सक्रियताका साथ सुम्पिएको जिम्मेवारी वहन गर्नुपर्ने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
काठमाडौं, २२ जेठ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानको साथै
विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनिकरण तथा प्राकृतिक
स्रोतको दोहन नियन्त्रणमा विशेष सक्रियता अपनाई प्रहरी कर्मचारीहरूले आफूलाई सुम्पिएको
जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् आइतबार
आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले मधेश प्रदेश प्रहरी कार्यालय एवम् प्रदेश
मातहत जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका
प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक सिंहले आफूले निर्वाह गरेको जिम्मेवारी अनुरुप नै प्रहरी
अधिकृतहरूको मूल्याङकन हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आर्थिक
पारदर्शिताको नीतिलाई अवलम्बन गरी आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व
विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । दण्ड र पुरस्कार
अपरिहार्य तत्व रहेको उल्लेख गर्दै गल्ती गर्नेलाई तत्काल दण्डित गर्ने र राम्रो काम गर्नेहरूलाई
संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण, भन्सार छलिको सामन बरामद राजश्व
वृद्धि एवम् प्राकृतिक स्रोतको दोहन लगायत आपराधिक गतिविधिमा संलग्नलाई कानूनी
दायरामा ल्याउन थप क्रियाशील हुन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा
आउन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा
जोड दिनुभयो । साथै वर्षाको समयमा हुन सक्ने विपद्का घटना न्यूनिकरण एवम् उद्दारका लागि
स्थानीय तह एवम् सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वय गरी तयारी गर्न समेत
उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहातका नेपाल प्रहरी प्रदेश
कार्यालय वीरगंज पर्सा, ८ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग
सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख
तथा प्रतिनिधिहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम्
चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् सफल अनुसन्धानका मुख्य मुख्य उपल्ब्धीहरू,
स्थानीय तहको निर्वाचनमा प्रहरीले निर्वाह गरेको भूमिका, तस्करी नियन्त्रण, राजश्व संकलन
तथा भन्सार छलिका सामान बरामद सम्बन्धी विवरण, भावी कार्ययोजना लगायतका विषयमा
जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको
साथै मधेश प्रदेश प्रहरी कार्यालय लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा
प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
Views: 0