माल्टा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) माल्टाले हालै सुरु गरेको सदस्यता दर्ता (एमआईएस रजिष्ट्रेशन) प्रक्रिया स्थगित गरेको छ।
प्राविधिक तथा संगठनात्मक असमझदारीका कारण दर्ता प्रक्रिया रोकिएको विज्ञप्तिमा उल्लेख गरिए पनि एनसीसी स्रोतले अनधिकृत व्यक्तिबाट सदस्य स्वीकृतिको दुरुपयोग भएको मुख्य कारण खुलाएको छ।
एनसीसी माल्टाले शनिबार जारी गरेको विज्ञप्ति अनुसार, मे २६, २०२५ देखि सुरु गरिएको सदस्यता दर्ता प्रक्रियामा देखिएका विविध प्राविधिक तथा संगठनात्मक असमझदारीका कारण तत्कालका लागि स्थगित गरिएको हो।
एनसीसीले माल्टा र गोजोबासी नेपालीहरूलाई एकजुट बनाउने प्रयास गरिरहेको र केन्द्रीय तहको विवादले एनसीसी फुट्न नदिई एकताबद्ध भएर अगाडि बढ्ने सोच रहेको स्पष्ट पारेको छ। यस क्रममा विभिन्न बाधा अड्चनहरू सिर्जना गर्ने प्रयास भइरहेकोले दर्ता प्रक्रिया रोक्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी तपाईंहरूको साथ, समझदारी र सहयोगको अपेक्षा राख्दछौं। एनआरएनए एनसीसी माल्टाले छिट्टै नै एक समाधान र सहकार्यको प्रक्रियामार्फत पुनः दर्ता प्रक्रियामा संशोधन गरी, एक स्पष्ट र ठोस निर्णयसहित माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली डायस्पोरालाई एकताबद्ध र एकजुट बनाउने हेतुले पुनः दर्ता प्रक्रिया ल्याउने जानकारी पनि गराउन चाहन्छौं।’
तर, दर्ता प्रक्रिया स्थगित हुनुको भित्री कारणबारे बुझ्न खोज्दा एनसीसीका एक पदाधिकारीले एमआईएस प्रणालीको अधिकार दुरुपयोग भएको जानकारी दिए। उनका अनुसार एमआईएस प्रणालीमा सदस्य दर्ताको लागि अनुमोदन (अप्रुभ) गर्ने अधिकारसहितको ‘क्रेडेन्सियल’ एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनाल, कोषाध्यक्ष निरज श्रेष्ठ र सदस्य सत्यनारायण झा गरी तीन जनासँग थियो।
स्रोतका अनुसार, कार्यसमितिकै अर्का एक व्यक्तिले अध्यक्ष, महासचिव लगायत आधिकारिक टिम कसैलाई पनि जानकारी नदिई अनधिकृत रूपमा एमआईएस प्रणालीमा प्रवेश गरी धमाधम सदस्य स्वीकृत गर्न थाले। यो कार्यलाई आधिकारिक टिमले ‘ठूलो दुरुपयोग’ का रूपमा लिएको छ।
एमआईएस प्रक्रियाको सुपरभिजन गर्ने टोलीमा उपाध्यक्ष सत्यनारायण झा प्रकाश र वरिष्ठ उपाध्यक्ष मधु गुरुङ थिए। सुपरभिजन टोलीले अनधिकृत रूपमा सदस्यता स्वीकृत भइरहेको पत्ता लगाएपछि तत्काल रोक्नका लागि पहल भएको हो। विशेष गरी उपाध्यक्ष सत्यनारायण झा प्रकाशले यो अनियमिता पत्ता लगाएको बताइएको छ।
यस घटनापछि एनआरएनए एनसीसी माल्टा वर्तमान एमआईएस प्रणालीको प्रक्रियाबाट बाहिरिएको ती पदाधिकारीले बताए। भविष्यमा एनसीसीले आफ्नै पोर्टल बनाएर दर्ता प्रक्रिया अगाडि बढाउन सक्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ। यद्यपि, विज्ञप्तिमा भने संशोधित र पारदर्शी प्रक्रियासहित पुनः अगाडि बढ्ने उल्लेख छ।
एनसीसी माल्टाले सम्पूर्ण नेपाली समुदायको सहयोग, समझदारी र धैर्यप्रति आभार व्यक्त गर्दै छिट्टै नै समाधान र सहकार्यको प्रक्रियामार्फत संशोधित दर्ता प्रक्रिया ल्याउने प्रतिबद्धता जनाएको छ।
Views: 0