धादिङ, २०८२ असोज २८ गते — लामो समयदेखि फरार रहेका धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरि सुवेदी किर्ते जन्मदर्ता प्रकरणमा पक्राउ परेका छन्।
शनिबार बिहान काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प अगाडि लुकिछिपी बसिरहेका सुवेदीलाई विशेष सूचनाका आधारमा धादिङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। सुवेदीमाथि नाबालकको किर्ते जन्मदर्ता प्रमाणपत्र बनाएको आरोप लागेको छ।
यसअघि सोही मुद्दामा वडा सचिव मिलन सुवेदीलाई पनि प्रहरीले पक्राउ गरी हाल पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गरिरहेको छ।
प्रकरणको उजुरीदाताका रूपमा गणेश परियारले न्यायको खोजी गर्दै प्रहरी कार्यालय, दलित आयोग लगायतका सरोकारवाला निकायहरूसम्म धाउँदै आएका छन्। उनले यस मामिलामा उच्चस्तरीय छानबिनको माग समेत गरेका छन्।
नाबालक जन्मदर्तालाई राजनीतिक र व्यक्तिगत लाभका लागि दुरुपयोग गरिएको आशंका गर्दै नागरिक समाज, स्थानीय बासिन्दा र मानवअधिकारकर्मीहरूले समेत यस घटनाप्रति चासो व्यक्त गरेका छन्।
पक्राउ परेका वडा अध्यक्ष सुवेदीलाई धादिङमै ल्याई थप अनुसन्धान अघि बढाइने धादिङ प्रहरीले जनाएको छ।
Views: 21