मलेशिया । मलेशियामा रहेको ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालका केही मेनपावरको मिलेमतोमा अवैध धन्दा गरेको खुलासा भएको छ । कम्पनीले कानून विपरीत १२ सय ९७ नेपाली कामदारको मागपत्रको लागि नेपाली दुतावास मलेसियामा प्रमाणिकरणका लागि निवेदन दिएर प्रकृया शुरु गर्नु पर्नेमा सो नगरेको पाइएको छ ।
कम्पनीले मागेको मागपत्रमा समस्या छ भन्दै नेपाली राजदुताबासले हालसम्म कम्पनीलाई मागपत्र प्रमाणिकरण दिएको छैन । मागपत्र प्रमाणिकरण नभएपनि ए एच एम सेक्युरिटी कन्सल्टेन्सीले नेपालका एक दर्जन भन्दा बढी मेनपावरहरूलाई आफ्नो कम्पनीको मागपत्र विक्री गरि करौंडौं रकम असुली गरेको छ । नेपालका मेनपावरहरुले पनि दुतावासको प्रमाणिकरणलाई वेवास्ता गर्दै कम्पनीलाई रकम बुझाई पाँचसय भन्दा बढी कामदारको डकुमेण्ट बुझाईसकेका छन् ।
स्रोतका अनुसार दुताबासले अनुमती नदिईकन नै नेपालका मेनपावरहरुबाट नेपाली कामदारको कागजपत्र, स्वास्थपरीक्षण तथा पासपोर्ट लिई पाँच सय जना भन्दा बढीको कलिङ भिषा निकालिसकेको छ । सो कम्पनीले वैधानिक रुपमा नेपाली कामदार मलेसिया ल्याउन सम्भव देखिएको छैन । यस कार्यबाट ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीमा आवेदन गरेर भिषा प्राप्त भएका नेपाली कामदारहरु प्रत्यक्ष रूपमा पिडित हुने निश्चित छ । उक्त कम्पनीमा आउने कामदारहरुले नेपालका मेनपावर र एजेन्टहरुलाई रकमसमेत बुझाइ सकेका छन् ।
राजदुताबासले पहिलो चरणमा तीनसय जनाको कोटा पास गर्छ भन्ने जानकारी हुँदा हुँदै पनि ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालका एक दर्जनभन्दा बढी मेनपावर कम्पनीको नाममा १ हजार ९७ जनाको मागपत्रका लागि दुतावासमा निवेदन पेश गरेको छ ।
मलेसियन र मलेसियन कानून व्यवसायीहरूले ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीका विरुद्ध कम्पनीको डाइरेक्टरसहितलाई मलेसिया प्रहरीमा उजुरी गरिसकेको स्रोतले बतायो । स्रोतका अनुसार विभिन्न व्यक्तिसँग कानूनी तथा गैरकानूनी कागजपत्रहरूमा सहिछाप गरी आर्थिक लेना देना गरेको छ । नेपालका तथा मलेसियामै रहेका केही बिचौलियाहरुले यसमा चलखेल गरेको पनि स्रोतको दाबी छ । मलेसियास्थित नेपाली दुतावासका लेवर कन्सुलर कृष्णप्रसाद भुसालका अनुसार ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले विगत पाँच महिना अगाडि नै रातदुताबासमा माग पत्र प्रमाणिकरणको लागि पेश गरेको भएता पनि विभिन्न कारणले हालसम्म मागपत्र प्रमाणिकरण हुन नसकेको बताए ।
ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालमा रहेको उत्सव एच आर प्रा. लि., रेडियन्ट ओभरसीज प्रा. लि., एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेशनल प्रा. लि., विज्ञान एच आर म्यानेजमेन्ट प्रा. लि., ट्रस्ट इन्टरनेशनल ओभरसीज प्रा. लि., अनमोल ओभरसीज प्रा. लि., अमन ओभरसीज प्रा. लि., स्विफ्ट गोर्खा इन्टरनेशनल प्रा. लि., ह्याप्पी नेपाल इम्प्लोयमेन्ट प्रा. लि., सनराइज एच.आर. सोलुसन प्रा.लि. र मनि होम ओभरसिज प्रा. लि. नामक मेनपावर कम्पनीको नाममा विगत केही महिना अघिनै मागपत्र प्रमाणिकरणका लागि आवेदन दिइसकेको छ ।
यी १२ मेनपावरलाई अन्तिममा दुतावासमा उक्त कम्पनीले प्रमाणिकरणका लागि आवेदन दिएपनि त्यो भन्दा पहिला नै ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले विभिन्न एजेन्टहरु प्रयोग गर्दै अन्य दुई दर्जनभन्दा बढी मेनपावरहरुलाई पनि उक्त कम्पनीको मागपत्र नमुना बनाउदै विक्री वितरण गर्दै आएको स्रोतको भनाइ छ ।
वैदेशिक रोजगार ऐन अनुसार नेपाली राजदुतावासले मागपत्र प्राप्त भएपछि प्रमाणिकरण गर्नुपर्छ । प्रमाणिकरणको कार्य सकेपछि वैदेशिक रोजगार विभागबाट पूर्वस्विकृत लिनुपर्छ । पूर्वस्विकृतको विज्ञापन नेपालको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरी अन्तरवार्ताको मिति तय गरिन्छ । अन्तरवार्तामा छनौट भएका कामदारहरुको मेडिकल परीक्षण गरी उत्तीर्ण भएका कामदारहरु मात्र कलिङ भिषाका लागि मलेसियाको अध्यागमनमा एप्लाई गर्न योग्य ठहरिन्छ । तर ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नियम उल्लंङ्घन गरि पाँच सय जनाभन्दा बढीको कलिङ भिषा निकालेको हो ।
स्रोत: जनसवाल दैनिक
Views: 52