मलेसिया,पछिल्लो समय मलेसियामा भिजिट भिसाको नाममा काम गर्न प्रवेश गर्ने नेपालीहरूको संख्या उल्लेख्यरूपमा बढ्दै गएको छ। वैधानिक प्रक्रियाबाट श्रमिक आउन सक्ने प्रणाली सुस्त रहेको अवस्थामा एजेन्ट र दलाल समूहहरूले सामाजिक सञ्जालमार्फत ‘छोटो समयमै विदेश पुग्ने’ र ‘उत्कृष्ट पारिश्रमिक’को लोभ देखाई नेपाली युवा युवतीहरूलाई भिजिट भिसामा मलेसिया ल्याउने क्रम तीव्र बनाएका छन ।
विशेषगरी तेस्रो मुलुक हुँदै मलेसियामा कामको खोजीमा आउने नेपालीहरू आप्रवासन नीतिको उल्लंघन गर्दै देश प्रवेश गरिरहेका छन्, जसले मलेसियाको सुरक्षा र सामाजिक संरचनामा थप चुनौती सिर्जना गरिरहेको छ ।
भिजिट भिसाको बहानामा मलेसिया प्रवेश गर्ने नेपालीहरू मध्ये धेरैजसोले कानुनी जटिलता भोगेर केही स्वदेश फिर्ता भइसकेका छन् भने, ठूलो संख्यामा नेपाली महिलाहरू रेस्टुरेन्ट तथा घरेलु कामदारको रूपमा कार्यरत अवस्थामा भेटिएका छन । यिनीहरू ‘ओभरस्टे’ गरी अवैध रूपमा बसोबास गरिरहेको पाइएको छ।
मलेसियाली अध्यागमन विभागले हालैका दिनहरूमा यस प्रकारका विदेशी नागरिकहरूलाई विमानस्थलबाटै फिर्ता गर्ने, विशेष निगरानी अभियान (रेड) सञ्चालन गर्ने, र आप्रवासन ऐन उल्लंघन गर्नेहरूलाई जरिवाना, जेल सजाय तथा देशनिकाला (डिपोर्ट) गराउने कार्य तीव्र बनाएको छ। तर पनि नेपाली एजेन्टहरुले विभिन्न च्यानल प्रयोग गर्दै नेपालीलाई मलेसिया पुर्याउन भने छाडेका छैनन ।
मलेसियास्थित नेपाली दूतावासले वैधानिक प्रक्रिया अपनाएर मात्र विदेश जानु उपयुक्त र सुरक्षित हुने भन्दै सचेतना अभियान सञ्चालन गरिरहेको दावी गरेपनी मलेसिया पुग्ने कामदारमा कमी भएको छैन । दूतावास स्रोतका अनुसार, “भिजिट भिसामा काम गर्न पाइँदैन। त्यस्तो प्रयास गर्नु गैरकानुनी मात्र होइन, दीर्घकालीन रूपमा गम्भीर समस्या निम्त्याउन सक्छ।”
दूतावासले नेपाली समुदायका सबै सरोकारवालाहरू सामाजिक संस्था, पत्रकार, बुद्धिजीवी तथा अगुवाहरूलाई मिलेर सचेतना फैलाउन आह्वान गर्दै आएको छ ।
जनसवाल दैनिक लगाएतका संचार माध्यमले बुधबार समाचार प्रकाशित गरेपछी मलेसियन प्रहरीले अनलाईनबाट सेटिङ्गमा मलेसिया पुर्याउने बिज्ञापन गर्ने एजेन्ट मनोज छन्त्याललगाएत २३ जनालाई मलेसिया बाट पक्राउ गरेको छ । उनीहरुको साथबाट १७ हजार ६ सय युएस डलरसहित पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । तर एजेन्टको समुहले ९० हजार रिङ्गेट खर्च गरेर एजेन्ट छन्त्याल लाई भने छुटाउन सफल भएका छन । एजेन्ट छुटेपनि पक्राउ परेका २३ जना भने मलेसियन प्रहरीको हिरासतमा नै छन ।
विश्लेषकहरूका अनुसार, भिजिट भिसाको दुरुपयोग र अवैधानिक रूपमा कार्यरत नेपालीहरूका कारण नेपाली श्रमिकहरूको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने खतरा बढेको छ। दीर्घकालमा यसले नेपालबाट श्रमिक लैजाने देशहरूको नीति कडा बनाउने र अवसर घटाउने सम्भावना रहेको उनीहरूको भनाइ छ। यसतर्फ सरोकार वाला निकायको तत्काल ध्यान जानुपर्ने देखिन्छ । यस्तो अवस्थामा नेपाली दूतावासले तत्काल कदम चाल्नुपर्ने मलेसियामा रहेका संघ संस्थाका प्रतिनिधिहरु बताउछन ।
स्रोत: जनसवाल दैनिक
Views: 0