भक्तपुर, पुस १८ । प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको बुधबार उद्घाटन गरे ।
रु दुई करोड २६ लाखको लागतमा निर्माण भएको उक्त भवनमा प्रभागको कार्यालय, ब्यारेक तथा भान्साघरसहित १९ ओटा कोठा रहेका छन् ।
सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक क्षेत्रीले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कुनै हालतमा चुक्न नहुने बताउँदै प्रहरीले गरेका राम्रा र उपलब्धिमूलक काम छायाँमा परेको बताए ।
‘निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन हरेक प्रयास गरिरहेको छ’–उनले भने–‘निर्मला प्रकरणमा मिडियाले धेरै उचाल्यो । प्रहरीको छवि बिग्रनेगरी समाचार आइरहे । तर, प्रहरीले गरेको राम्रो कामलाई सन्चारमाध्यमले बाहिर ल्याएनन् । त्यसैले प्रहरीको छवि उच्च राख्नेगरी काम गर्नोस् ।’
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रहरीबाट आमनागरिकले शान्ति र सुरक्षाको प्रत्याभूति चाहने बताउँदै प्रहरीले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले दुई रोपनी ६ आना दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त साढे दुई तल्लाको दुईओटा भवनमध्ये एउटामा कार्यालय प्रमुखकक्ष, प्रशासनिककक्ष, महिला प्रहरी कर्मचारीका लागि सुविधायुक्त ब्यारेक, महिला तथा बालबालिका सेल, महिला र पुरुषका छुट्टा–छुट्टै हिरासतकक्ष रहेको र अर्को भवनमा भान्छाघर एवं प्रहरी कर्मचारीको ब्यारेक रहेको बताए ।
बालकोट प्रभागका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक सुरेश केसीले प्रहरी प्रधान कार्यालयले जग्गा खरिद गरी सो भवन निर्माण गरेको बताए ।
प्रहरी नायब उपरीक्षक एवं इन्जिनियर ईश्वर थापाले नवनिर्मित भवन सरकारले लागू गरेको भवन आचारसंहिताअनुरुपको भूकम्पप्रतिरोधी भएको जानकारी दिए ।
-इमेज खबर
Views: 0