काठमाडौं : तपाईँ हामी जति नै शिक्षित भए पनि व्यवहारमा भने एकदमै कमजोर छौँ । तपाईँ हामी बाटोमा हिँड्दा चाउचाउ, बिस्कुट, पान पराग, चकलेट र गुट्खा खाइसकेपछि त्यसको खोल दायाँ बायाँ नसोची सीधै सडकमा फालिदिन्छौँ ।
तर अब होसियार हुने बेला भएको छ । उपत्यकाबासीलाई सभ्य बनाएर सडक सभ्यता बढाउन काठमाडौँ महानगरपालिकाले कडा नियम ल्याएको छ । यदि तपाईँले जथाभावी जङ्क फुडका खोल र प्लास्टिकजन्य फोहोर फाल्नु भयो भने ५० हजार जरिवाना तिर्नुपर्नेछ ।
काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार पहिलो चरणमा यो नियम दरबारमार्ग, रत्नपार्क, शहिदगेट, पुतलीसडक र बागबजार क्षेत्रमा लागू गरिँदैछ । यी स्थानमा पाइलट प्रोजेक्ट सफल भएपछि मानिसको बाक्लो उपस्थिति हुने अन्य स्थानमा पनि यो अभियान लागू गरिने श्रेष्ठले बताए ।
यही अभियान अन्तर्गत महानगरपालिकाले सडक किनारमा डष्टबिन राख्ने कामलाई तीब्र बनाएको छ । महानगरपालिकाले यो नियम कडाइका साथ लागू गर्न पसल मालिकहरुलाई पनि आफ्नो पसल अगाडि अनिवायर्य डस्टबिन राख्न निर्देशन दिने भएको छ ।
महानगरपालिकाले सुरुमा पर्याप्त डस्टबिनसँगै जनचेतना अभियान पनि चलाउने भएको छ । पर्याप्त डस्टबिन राख्दा पनि सडकमा फोहोर फाल्ने पसले र सर्वसाधरणलाई कानुनी कारबाही अघि बढाइने वातावरण विभाग प्रमुख श्रेष्ठले बताए ।
घर, पसलसँगै फुटपाथका पैदल यात्रीलेसमेत बिस्कुटका खोल, पान पराग, गुट्खा, चुरोटका बट्टा र प्लास्टिकजन्य पदार्थ सडकमा फालेर प्रदूषण बढाएकाले महानगरपालिका कडाइका साथ अगाडि आएको हो ।
यदि यो नियम उल्लंघन गरेको महानगरपालिकाको टोलीले भेटेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ दफा ३८ को खण्ड क, ख, ग, घ र ङ बमोजिम कसुर गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।-अन्नपुर्ण पोस्ट
Views: 0