ओमप्रकाश गुप्ता
देउखुरी २३ फागुन । प्रदेश सभाका सदस्य रेवतीरमण शर्माले समाजलाई स्वस्थ, निरोगी र नमुना बनाउन खेल क्षेत्रको महत्वपुर्ण योगदान रहने बताएका छन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुर्य विनायक मावि नर्तीको आयोजना एवम् जिल्ला खेलकुद विकास समिति दाङको आर्थिक सहयोगमा दाङ निर्वाचन क्षेत्र नं. १ स्तरीय दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधवार सुर्य विनायक मावि नर्तीमा समापन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेकाप्रदेश सभा सदस्य शर्माले खेल क्षेत्रको विकासका लागि खेलाडीको क्षमता अभिवृद्धि र भौतिक पूर्वाधारको विकासमा प्रदेश सरकारले ध्यान दिने प्रतिवद्धता ब्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका शिक्षा शाखा संयोजक सुरेन्द्ररमण पुरी, लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेल, आदर्श मावि देउपुरका प्रअ शशिधर ज्ञवाली, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । निर्वाचन क्षेत्र नं. १ स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक र निजी गरी २७ विद्यालयले भाग लिएको थियो ५ दिन सम्म चलेको प्रतियोगितामा विजय भएका खेलाडीहरुलाई पुरुस्कार प्रदान गरिएको थियो भने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । प्रतियोगितामा १३ वटा एथ्लेटिक्स, १ वटा भलिवल र १ वटा कबड्डी खेल खेलाइएको थियो । विद्यालयका प्रअ विष्णुप्रसाद पौडलले धन्यवाद ज्ञापन गरेका थिए विद्यालयका शिक्षक अभिभावक संघका संयोजक लेखराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि रिजालले गरेका थिए ।
Views: 0