कुशल सर्जनहरुको कारण दुर्घटनामा घाइते भएका एक भारतीय व्यक्तिको ज्यान बच्न सफल भएको छ। दुर्घटनामा परी घाइते भएका ती व्यक्तिको फोक्सोनै बाहिर निस्किँदा पनि उनी बाँच्न सफल भएका हुन्।
मादक पदार्थ सम्बन्धि व्यवसाय गर्दै आएका योगेन्द्र कुमार घर फर्किंदै गर्दा एक सवारीले उनलाई ठक्कर दिएको थियो। ठक्कर पछि उनी लगभग २० फिट माथि उडेर टिन माथि बजारिएका थिए।
देब्रे छाती टिनमा बजारिएको कारण ३६ वर्षीय योगेन्द्रको देब्रे छाती छिया-छिया हुन पुग्यो। देब्रे छाती पूरै च्यातिएको कारण उनको फोक्सोनै बाहिर निस्किन पुगेको हो।
छाती च्यातिने मात्र नभई हड्डी समेत भाँचिएको हुँदा उनी बच्ने सम्भावना कम थियो। तर सर्जनहरुको अथक प्रयासको कारण उनी बच्न सफल भएको भन्दै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।
प्राप्त जानकारी अनुसार दुर्घटना गत नोभेम्बर २३मा भएको थियो। बाँच्ने सम्भावनानै नदेखेपछि धेरै अस्पतालले उपचार गर्न अस्विकार गरेपछि योगेन्द्रलाई नोएडामा रहेको फोर्टिस अस्पतालमा लागिएको थियो।
Views: 0