काठमाडौं। युएईबाट जितको खुसी बोकेर फर्केको राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लंदा भव्य स्वागत भयो। स्वागतको त्यो क्षणमा केही रोचक दृश्यहरू देखिए।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना खेलाडीको स्वागतमा पुगेका थिए।
नेपाली राष्ट्रिय झन्डासहित समर्थक विमानस्थलमा आफ्ना प्रिय खेलाडीहरूलाई अघि देखि नै कुरिरहेका थिए।
राष्ट्रिय हिरोहरूको आगमनको त्यो क्षण कैद गर्न क्यामेरासहित तम्तयार अवस्थामा उपस्थित पत्रकारको भिड थामिनसक्नु थियो।
जब खेलाडी टाढैबाट आगमन कक्षमा देखिए, बाहिर उपस्थित समर्थकको भिडले चर्को हुटिङ र नाराबाजी गरेर माहोल ततायो। यता पत्रकारको भिडमा उस्तै खैलाबैला चल्यो। रातो कार्पेटमा खेलाडीका पाइला जतिजति अगाडि बढ्दै जान्थ्यो समर्थकको अधैर्यता बढ्दै थियो।
राष्ट्रिय सभाका अध्यक्ष सहित खेलकुद परिषदका पदाधिकारीहरू खेलाडीलाई खादा र मालाले सम्मान गर्न अगाडि नै उभिएका थिए। केही टाढैबाट पत्रकारहरू दृश्य कैद गर्दै थिए। बीचबीचमा कहिले सुरक्षाकर्मी त कहिले एयरपोर्ट कर्मचारीले दृश्य छोपिदिँदा पत्रकार चिच्याउँथे।
फोटो भिडियो खिचिरहेका पत्रकारहरूका लागि जुन क्षणको प्रतीक्षा थियो त्यही छेक्न हुत्तिएर एकजना समर्थक कप्तान पारस खड्कासँग सेल्फी खिच्न पुगे। पत्रकारका लागि त्यो सह्य भएन। एकजना टिभी सम्वाददाता दौडिएर ती सेल्फी खिच्ने समर्थकलाई हटाउन पुगिन्। संवाददाताको हस्तक्षेपलाई ती समर्थकले प्रतिवाद गर्दै रिसाएर त्यहाँबाट हटे।
कप्तान पारसलाई लिन उनका हजुरबुवा प्रेमबहादुर खड्का र बुबा मोहन खड्का एयरपोर्ट पुगेका थिए। आगमन कक्षबाट बाहिरिएपछि कप्तान पारसले मिडियालाई छोटो प्रतिकृया दिए। त्यसपछि सुरक्षाकर्मीको एस्कर्टिङमा उनी आफ्नो कारतर्फ अघि बढे। कारको ड्राइभिङ सिटमा थिए पारसका बुबा मोहन खड्का।
पारस गाडीमा चढेपछि समर्थकको भिडले ‘पारस दाइलाई हामीले काँधमा बोक्न पाउनु परो’ भन्दै चर्को हुटिङ थाले। पारस गाडी भित्र थिए, समर्थक उनलाई बाहिर निस्कन आग्रह गर्दै थिए। बुबाले गाडी स्टार्ट गरेर अगाडि बढाउँदा समर्थक अझै पनि आग्रह गरिरहेकै थिए। सुरक्षा चुनौति एकातिर थियो भने अर्कोतिर भिड अनियन्त्रित हुने डर थियो। पारसको गाडी भिड छिचोल्दै अगाडि बढ्यो। बुबाले मुस्कुराउँदै गाडी अघि बढाउने, छोरा पारस हात हल्लाएर विदा हुँदाको त्यो क्षण कैद गर्ने हतारोमा पत्रकारको भिड थियो।
समर्थकका नारा पनि भाँतिभाँतिका थिए। राष्ट्रिय हिरोहरूको देश फिर्तीमा विमानस्थलको स्वागत दृश्य साँच्चिकै लोभलाग्दो थियो। तर त्यो क्षणमा विमानस्थलको आगमन द्वार केहीबेर ठप्प बन्यो। स्वदेशी एवं विदेशी यात्रुहरू खेलाडिको त्यो स्वागत दृश्य हेरेर दंग थिए।
भिडियोमा हेर्नुस् राष्ट्रिय हिरोहरू जितको खुसी लिएर देश फिर्किदाको त्यो रोमाञ्चक क्षणः
Views: 0