धादिङका सागर गौलीले पोखराकी शिला पौडेललाई केमन टापुको लोभलाग्दो आम्दानीको हिसाब देखाए ।
NIC ASIA Bajaj Nepal
‘म १८ लाख रुपैयाँ कमाउँछु, श्रीमतीको पनि राम्रै आम्दानी छ,’ उनले फेसबुकमा भने, ‘तिमी पनि आउने हो भने हामी सहयोग गर्छौं ।’
सागरले शिलालाई श्रीमती विनिशासँग सम्पर्कसमेत गराइदिए । विनिशाले केमन टापु नेपालीका लागि आकर्षक गन्तव्य भएको उनलाई सुनाइन्।
‘यहाँ पार्लरका लागि धेरै राम्रो छ, एकदमै सहज छ, नेपाली निकै आउन थालेका छन्, भिसा लाग्नासाथ सहजै आउन पाइन्छ,’ विनिशाको भनाइ थियो, ‘तिमी आउने भए पार्लरको काम सिक्नू।’
सागरले नेपालमा आफू मोडलिङका क्षेत्रमा पनि काम गर्ने बताएपछि शिलाले विश्वास गरिन्।
‘वर्क भिसा निकाल्न ५ लाख रुपैयाँ चाहिन्छ, बाँकी ६ लाख रुपैयाँ भिसा जारी भइसकेपछि तिर्दा हुन्छ,’ विनिशाले भनिन्, ‘नेपालबाट पैसा यहाँ पठाउन मिल्दैन । मेरो मान्छेलाई दिइदिनू ।’
सागर-विनिशाले भनेझैं उनले प्रवीण गौली, नवराज धिताल र नवराज गजमेरका नाममा ५ लाख रुपैयाँ हालिदिइन् र पार्लरको काम सिक्न थालिन् । रकम पठाएको दुई वर्ष बित्दा पनि शिला केमन टापु पुगेकी छैनन् ।
‘अहिले त उनीहरू सम्पर्कमै छैनन्,’ उनले भनिन्, ‘हामीजस्तो सोझो मान्छेलाई सपना देखाएर लुट्ने काम भयो।’ सागर-विनिशाको जोडीबाट ठगिनेको सूची लामै छ। चितवनका दीपक खडका र सरोज सुवेदीले क्रमशस् ५ लाख र ९ लाख रुपैयाँ उनीहरूलाई बुझाए।
खडका र सुवेदीलाई पनि भोलि–भोलि भन्दै टारिरहेका छन्। ‘हामीलाई यसरी ठगिएलाजस्तो लागेको थिएन, उनीहरूले केमन पुर्याएका नेपालीसँग सम्पर्क भएको थियो, दुई महिनामा भिसा पठाइदिन्छु भनेर पैसा लिएका थिए, १७ महिना बितिसक्दा पनि लगेका छैनन्,’ दीपकले भने, ‘सधैं भोलि भिसा पठाइदिन्छु भन्दै टार्ने काम भयो। पछिल्लो तीन महिनायता उनीहरूसँग सम्पर्क भएको छैन।’
बुटवलका विकास श्रेष्ठले दुई वर्षअगाडि ८ लाख रुपैयाँ बुझाएका थिए । ‘मेरो दिदी अमेरिका बस्नुहुन्थ्यो, उहाँले नै सागर गौलीलाई वेस्टर्न युनियनबाट रकम हालिदिएको हो,’ उनले भने, ‘तीन महिनाभित्र लैजान्छु भनेको थियो । अहिलेसम्म लगेको छैन । धेरै समय झुलाएपछि पैसा फिर्ता मागें । अहिले मान्छे नै गायब छ ।’ होम कार्कीले लेखेको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
केमन टापुमा म्यानपावरले कामदार पठाउने गरेको छैन । व्यक्तिगत पहुँचका आधारमा कामदार जाने गरेका छन्। यो समूहले २० लाख रुपैयाँसम्म लिएर केमन टापु लैजाने गरेको छ। उनीहरूलाई इन्टरपोलमार्फत पक्राउ गरी कारबाही गर्न माग गर्दै पीडितले केन्द्रीय अपराध महाशाखामा उजुरी हालेका छन्।
Views: 0