काठमाडौ । स्कुम पुर्वमा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट एक महिला कुटिएकी छिन् । रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ का वडाअध्यक्षले हेलमेटले हानेर महिलालाई घाइते बनाएको जनाइएको छ ।
वडाध्यक्ष जयकुमार बुढाले निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढालाई कुटपिट गरे । जयपुरी बुढाका भाइ लक्ष्मण बुढा मगरका अनुसार गएको आइतबार बिहान ११ बजे वडाध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच चर्पिका विषयमा वाद विवाद भएको थियो ।
छलफलका क्रममा वडाध्यक्षले एक्कासि हेलमेटले टाउकोमा हानेर घाइते बनाएको लक्ष्मणले बताए । गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्दा वडाध्यक्षले हातपात गरेको स्थानीयले बताएका छन् । पिडितका भाई लक्षणले भने, “वडाध्यक्षको आक्रमणबाट दिदीको टाउकोमा नीलडाम छ, आँखामा असर परेको छ ।”
आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षले आक्रमण गर्दा दुःख लागेको उनले जानकारी दिए ।अहिले रुकुमकोटमा रहेको अस्पतालमा उनको उपचार भइरहेको छ । आफुले न्यायका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिएको समेत उनले जानकारी दिए ।
विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको आरोप लगाउँदै वडाअध्यक्षले आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुन सक्ने भन्दै बचाउ गरेका छन् । वडाध्यक्षले उपभोक्ता समितिको मनपरिमाथि सरकारको तर्फबाट अनुगमन गर्दा उल्टै आक्रमण भएको भन्दै घटनामा आफ्नो संलग्नता नरहेको बताए ।
विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगिसकेको छ । पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपूर्तिको माग गरेकी छिन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिएका छन् ।
Views: 0