ओमप्रकाश गुप्ता
भालुवाङ ३० जेठ । जनप्रतिनिधीहरुले गरेका कृयाकलापहरुमा कतै भ्रष्टाचार त भएको छैन ? भएको छ भने यस्तो नदोहोरियोस । यदि यस्तो कृयाकलाप भएमा जनताबाट निर्वाचित जनप्रतिनिधीहरुको जनता प्रतिको उत्तरदायित्व समाप्त हुने छ, भन्दै राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले स्थानीय तहका जनप्रतिनिधीहरुलाई मंगलवार खबरदारी स्वरुपः सजग बनाउदै ज्ञापन–पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रम संगै कतै तपाईले भ्रष्टाचार त गर्नु भएको छैन ? भन्ने सन्देशको पर्चा समेत स्थानीयतहको कार्यालयमा टाँस गरिएको छ । जनप्रतिनिधीहरुले गरेका कृयाकलापहरु सन्तोषजनक नभएको र उनीहरु जनतालाई सर्वशुलभ सेवा प्रदान गर्ने तर्फ भन्दा आ–आफ्नै सुविधाप्रति लिप्त रहेको राष्ट्रिय जनमोर्चा दाङको ठहर रहेको छ ।
मंगलबार देउखुरीको गढवा गाउँपालिकामा ३४ बुँदे ज्ञापन–पत्र बुझाई गढवा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका सचिव बसन्त पौडेलले यस्तो बताएका हुन् । ज्ञापन–पत्र बुझ्दै गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव तथा उपप्रमुख शान्ती चौधरीलाई जनताको पक्षमा काम गर्न ध्यानाकर्षण गराइएको राजमो दाङले जनाएको छ । ज्ञापनपत्र बुझ्दै यादवले देश र जनताको पक्षमा काम गर्न आफु कत्ति पनि पछि नपर्ने भन्दै सकरात्मक सुझावलाई ग्रहण गर्ने र स्थानीयतहमा कार्यान्वयन गर्न सक्ने कुराहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा भएको कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका नारायण योगी, राजमो दाङका सचिव बसन्त पौडेल, दाङ जिल्ला सचिवालय सदस्य गुणनिधी शर्मा र अखिल नेपाल युवक संघ दाङका अध्यक्ष चित्रबहादुर महतरा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन राजमो गढवा गाउँपालिकाका सचिव टुकमान कँवरले गरेका थिए ।
ज्ञापन पत्रका मागहरु
राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्य र सचिव बसन्त पौडेलद्धारा हस्ताक्षरित ज्ञापन–पत्रमा स्थानीयतहले जनतालाई मनपरी कर लगाउन नपाइने, भ्रष्टहरुको संरचना झनै बढी संगठित र फराकिलो हुँदै गइरहेकोमा भ्रष्टचार र कमिसन खोरलाई पुर्ण रुपमा नियन्त्रण गर्नुपर्ने, जनप्रतिनिधी जनउत्तरदायी र पारदर्शी हुनुपर्ने,सडक मर्मतका नाममा ब्यक्तिगत जग्गा प्लटिङ गर्न नहुने, अनुउत्पादक क्षेत्रमा र स्थानीय तहका प्रोफाइल तथा डिपिआर बनाउदा करोडौ रकमको दुरुपयोग गर्न नहुने, भन्दै स्थानीयतहले प्राप्त गराउने अनुदानलाई न्यायपुर्ण र पारदर्शी बनाउन, माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको अबधारण कार्यान्वयन गर्न, संघियताले देश नै धान्न नसक्ने भएकोले खारेजी गर्न, प्राकृतिक श्रोत साधन माथीको अनियन्त्रित र अनाधिकृत दोहन रोक्न, प्रकोप पिडीतहरुलाई उचित राहत प्रदान गर्न, यातायात मालपोत नापी तथा कर कार्यालयहरुमा घुसखोरी हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न र बिचौलियाको अन्त्य गर्न, सर्वसुलभ ढंगले किसानहरुलाई कृषि बिउमल र सिंचाईको ब्यवस्थापन गर्न, राप्तीनदी र खहरे खोलाहरुको कटान नियन्त्रण गर्न, मापदण्ड विपरित संचालन गरिएका क्रसर उद्योग तथा बालुवा प्रशोधनको नाममा संचालि गिट्टी उद्योग बन्द गर्न, सिमेण्ट उद्योगहरुलाई उद्योग प्रभावित जनतासंग भएका संझौता कार्यान्वयन गर्न, क्षमता भन्दा बढि यात्रु बोक्ने यातायातका साधन नियन्त्रण र नियमन गर्न, कालाकाटे–गढवा सडकमा क्षमताभन्दा बढिका टिप्पर संचालनले बाटो क्षतबिक्षत भएकोमा गाडीहरुको नियमन तथा सडक मर्मत गर्न तथा स्थानीय तहका बिकाश आयोजनामा आफ्ना मान्छे भर्ति गर्ने र गुणस्तर हिन कामगर्ने परम्पराको अन्त्य गर्न आव्हान गरिएको छ ।
परिवार नियोजनको साधन प्रयोगमा वृद्धि गर्न अभियान सुरु
ओमप्रकाश गुप्ता
भालुवाङ ३० जेठ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आयोजित परिवार नियोजन सम्वन्धी २ दिने सुक्ष्म योजना तर्जुमा गोष्ठीले राप्ती गाउँपालिकामा परिवार नियोजनको हालको अवस्थामा अझ बृद्वि गर्न अभियान सुरु गर्ने निर्णय गरेकोे छ । गाउँपालिका भित्रका नागरिकहरुलाई परिवार नियोजन सम्वन्धी सेवाको पहँुच पुराउनका लागि यस क्षेत्रका स्वास्थ्य संस्थालाई थप सामाग्री तथा स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । नागरिकहरुलाई सचेतना गर्दै परिवार नियोजन प्रति सकारात्मक सोचको विकास गर्न पहल कदमी स्वरुप जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु वीच हालको अवस्थाको वारेमा छलफल गर्दै जन्मान्तर प्रति नागरिकलाई सचेत गराउन लागि पर्ने वातावरण ल्याउन गोष्ठीको आयोजना गरिएको हो । गाउँपालिका भित्र परिवार नियोजनका साधनको प्रगोगलाई तिब्रता दिन आठ योजना एवं कार्यक्रम निर्माण गरिएको छ र सो योजना सफल वनाउन सरोकारवाला निकाय सँंग सहकार्य गरिने स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिएका छन् । राप्तीमा परिवार नियोजनका साधन प्रयोगको मात्रा बढाउन इम्प्लान्ट निकाल्ने सामाग्री गाउँपालिका भित्रका दुई स्वास्थ्य संस्थामा बढाउने, आइयुसिडी राख्ने र निकाल्ने समाग्री थप गर्ने, नयाँ अटोकलेम राख्ने ब्यवस्था मिलाउने, किशोर अवस्थामा गर्भवती हुने जोडीलाई महिला स्वास्थ्य स्वंमसेविका मार्फत स्वास्थ्य संस्थामा प्रेशन गरि परिवार नियोजन सम्वन्धी परामर्श दिने, निजी स्वास्थ्य क्लिनिकहरुवाट प्रवाह हुने परिवार नियोजन सेवाको तथ्याङ राख्न निजी स्वास्थ्य क्लिनिकहरुसँंग सहकार्य गर्ने, वडा नम्बर ९ को देवीकोटमा इम्प्लान्ट सेवा सुरु गर्न सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीलाई तालिम तथा औजारको ब्यवस्था मिलाउने सिसहनियाँ र लालमटिया स्वास्थ्य चौकी मार्फत परिवार नियोजन स्वास्थ्य शिविर संञ्चालन गर्ने योजना निर्माण गरिएको स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिएका छन् । दुई दिने गाउँपालिका स्तरीय परिवार नियोजन सम्वन्धी सुक्ष्म योजना तर्जुमा गोष्ठी सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा आगामी दिनमा गाउँपालिका भित्रका नागरिकहरुमा परिवार नियोजनका साधनको प्रयोगको अवस्था र उमेर पुगेकाको मात्र विवाह र बच्चा जन्माउने अवस्था सृजना गर्न जनचेतना अभिबृद्वि गर्न सबै लाग्नुपर्ने बारे छलफल गरिएको स्वास्थ्य शाखा सहसंयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् ।
Views: 0