प्रदिप अधिकारी फागुन २०, २०७५।समय बिहानको ९ः२० बजे । स्थान कलंकी चोक । अफिस जानका लागि म बाग्मती यातायातको मिनीबसमा चढेँ ।यो केही दिन अगाडिको कुरा हो ।कार्यालय समय भएकाले यात्रु खचाखच थिए ।मिनी बसको महिला आरक्षण सिटमा एक वृद्ध बसिरहेका थिए । उनी म भन्दा अगाडि नै गाडीमा चढेका रहेछन् ।हेर्दा मधेशीमूलका जस्ता देखिने ती वृद्धले शायद त्यो आरक्षण सिट हो भन्ने भेउ पाएनन् ।के थाहा, आँखा ठहरेन कि ! उनले पढ्नै जानेका थिएनन् कि !वृद्धावस्था, आफ्नो शरीर धान्नै मुस्किल हुने उमेर । खाली देखे, बसे होलान् ।
गाडी रविभवन पुग्यो । ‘हजुरबा उठ्नुस्, यो महिला सिट हो,’ मेरो कानमा यही आवाज ठोक्कियो । झनन् रिस उठ्यो । उमेरले सात दशक पार गरिसकेका जस्ता देखिने हजुरबालाई सुकोमल युवतीले भाका हालेर सिट छोड्न आग्रह गरिन् ।विचरा! हजुरबाले उनको आग्रह सहजै स्वीकारिदिए । गल्ती उनकै थियो, महिला सिटमा बसेका जो थिए ।एक हातमा मोबाइल र अर्को हातले भित्ताको डण्डी समातेको थिएँ ।हतारमा महिला सिट भन्दै आफ्नो अधिकार खोज्ने युवतीको तस्वीर कैद गरेँ । मैले तस्वीर कैद गर्दैगर्दा उनी पछाडि फर्किइन् । अनुहार देखियो । मलाई उनको अनुहार हेर्नु थिएन ।
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ धेरै पहिला पढेको थिएँ, तर आज आफ्नै आँखाले ‘मानवता हराएको मान्छे’ देख्दैछु ।हजुरबालाई उठाएर अधिकारको बलमा महिला सिटमा बसेकी युवतीले आरामदायी यात्रा गरिन् । विचरा! हजुरबा बल्लतल्ल ज्यान धानेर उभिए ।यदि ती युवतीमा अलिकति पनि मानवता भन्ने जिनिस बाँकी थियो भने आफू उभिएर बालाई यथास्थानमा रहेर यात्रा गर्न दिनुपर्थ्यो । तर भइदियो उल्टो ।उनले स्कूलमा होस् या घरमा शायद गणितका सूत्र र ग्रामर मात्र घोकिन्, तर मानवताको च्याप्टर नै पढ्न भुलिन् ।
अधिकार छोड्नुहुन्न भन्ने विषय पढिन्, तर वृद्धवृद्धालाई सम्मान गर्नुपर्छ भन्ने नैतिक शिक्षा लिइनन् ।उनले मात्रै होइन, गाडीका सिटमा बसेका कसैले पनि ती बाजेका लागि सिट छाडेनन् ।कहाँ छ हाम्रो संस्कार, के हाम्रो मानवता आर्यघाटमा पुगिसकेको हो ? हो इन भने खोइ ?यसरी दिनदिनै मानवता मार्दै जाने हो भने एकदिन हामी यस्तो अवस्थामा पुग्नेछौं, जहाँ मानवताको अर्थ हेर्न शब्दकोश पल्टाउन पर्नेछ ।माथिको त एउटा प्रतिनिधि घटना हो । यस्ता घटना हरेक दिन भइरहेका हुन्छन् । जति यस्ता दृश्यहरू दोहो रिन्छन्, त्यतिनै हाम्रो चेतनाको स्तर पोखिन्छ ।
गाडीमा राखिएका आरक्षण सिटको सही सदुपयोग हुन सकिरहेको छैन । गर्भवती, अशक्त र बच्चा बोकेकी महिला अथवा बिरामी हेरेर मात्रै आरक्षण सिटको सदुपयोग गर्नुपर्ने हो, तर हामी कसैले पनि यसो गरिरहेका छैनौं ।सक्नेहरू त उभिइहाल्छन् नि । किन चाहियो आरक्षण ?यदि मान्छेमा मानवता मर्दैन भने आरक्षण सिट चाहिँदैन । त्यो फगतमात्रै हुनेछ ।यसको अर्थ हो, सक्नेहरूले आरक्षण नखोजौं । यदि त्यसो भएको भए उक्त हजुरबाले सकसपूर्ण यात्रा गर्नु पर्दैनथ्यो ।अरू केही गर्न नसकेपनि युवा पुस्ताप्रति ज्येष्ठ नागरिकमा नराम्रो छाप नपारिदिउँ ।
ज्येष्ठ नागरिक हाम्रा सपनाका मार्ग दर्शक हुन् । सम्पत्ति हुन् । सारथि हुन् ।उनीहरूको सदैव सम्मान गरौं । सकेसम्म सुझाव लिऔं । अनुभव र परिस्थितिले खारिएका ज्येष्ठ नागरिकले नयाँ पुस्ताको कुभलो कहिल्यै चिताउँदैनन् । जे गर्छौं, सोधेर गरौं । त्यसमै हाम्रो भलाइ छ ।आरक्षण पिछडिएका वर्ग तथा समुदायलाई माथि उठाउन सरकारले दिएको एउटा विशेष सुविधा हो । यसलाई योजनाका रूपमा लिँदा बुझ्न अलि सहज हुन्छ ।नेपालको संविधानअनुसार यो सुविधा दलित, जनजाति, मधेशी, महिला तथा अन्य केही पिछडिएका वर्गका नागरिकले पाउँछन् ।
आरक्षण समावेशिताको एउटा पाटो हो, जसले समुदायको पहिचान, सहभागिता, प्रतिनिधित्व र अधिकारलाई सुनिश्चित गर्दै एक कदम माथि उठाउँछ । यो योजना शुरूमा ल्याउने देश हो, स्वीजरल्याण्ड । यो समावेशी कार्यक्रम सन् १९४८ मै प्रारम्भ भएपनि यसले मूर्तरूप भने सन् १९८० मा मात्रै पायो । भलै नेपालले पनि यो योजनालाई तामझाममा साथ प्रस्तुत गरिसकेको छ, गर्दैछ ।निजामती सेवा ऐन २०४९ को दोस्रो संशोधन २०६४ साल साउन २३ गते नेपालमा पहिलोपटक संवैधानिक रूपमा आरक्षणको व्यवस्था गरि एको हो ।
यसमा ४५ प्रतिशतलाई शतप्रतिशत मानेर आरक्षण छुट्याइएको छ । जसमा ३३ प्रतिशत महिला कोटा छुट्याउँदा जनजातिले २७ प्रतिशत पाउने व्यवस्था छ । त्यस्तै मधेशीलाई २२, दलितलाई ९, अपाङ्गता भएका नागरिकलाई ५ र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत कोटाको व्यवस्था गरिएको छ ।अन्य सेवामा आरक्षणको प्रभाव कति, त्यो छुट्टै बहसको पाटो हो । तर जहाँसम्म सार्वजनिक यातायातमा आरक्षणको कुरा छ, त्यसको धेरै हदसम्म सदुपयोग हुन सकिरहेको छैन ।
Views: 0