विदेशमा रहेका नेपालीहरुले देशको इज्जत माथि दाग लाग्ने काम गरेका छन् । सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी दुई अस्ट्रेलियनसँग झगडा खेल्न थालेपछि यहाँको लोकप्रिय नाइन न्युजले केहीबेर त्यसलाई मुख्य समाचारनै बनाएको छ। नेपाली विद्यार्थी बाटो काट्ने क्रममा स्थानीय दाजुभाइसँग झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर चोट लागि हस्पिटलमा भर्ना भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा पुगेको जनाइएको छ ।
हिजो मध्यरातमा बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि नेपाली विद्यार्थी अनिश शाहीलाई अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको नाइन न्युजले जानकारी दिएको छ । स्कुडर दाजुभाइले आफ्नो साथी अनिशलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले चक्कुले स्कुडर दाजुलाई प्रहार गरे ।
घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो । घटनापछि स्कुडर दाजुभाइ जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी लिम्बू भने हिरासतमै रहेको एनएसडब्लु प्रहरीले जनाएको छ । उनलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिने प्रयास गरेको भन्दै स्कुडर दाजुभाइले उजुरी दिएका हुन् । उज्वल भविष्यको खोजीमा अस्ट्रेलियामा उच्च अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरू यसरी झैझगडामा सामेल हुन थालेपछि यसले नकारात्मक सन्देश दिन थालेको छ ।
Views: 0