सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तीनमहिना यता तलब नपाएको गुनासो गरेका छन् ।उपमहानगरपालिका अन्तरत रहेका ११ स्वास्थ्य संस्थामा कार्यरत ६५ कर्मचारीले आ.व. २०७४।०७५ को पोषाक भत्ताको रकमसमेत नपाएको बताएका छन् ।उनीहरूले २०७५।०७६ को पोषाक र मंसिर यता महँगी भत्ता र वैशाखदेखि तलब समेत रोकिदा पिडित बनेका छन् ।तलब भत्ता रोकिएको भन्दै उनीहरूले उपमहानगरका मेयर डा. कृष्ण पौडेल तथा उपमेयर सरस्वती चौधरीलाई लिखित रुपमा ध्यानाकर्षण बुझाएका छन् ।
सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी उर्मीला बैद्यले तलब नपाउँदा घर परिवार धान्न समस्या भैरहेको बताईन् । गर्भवती समेत रहेकी बैद्यले हरिया दुध, सागसब्जी र फलफूल किनेर खान समेत नसक्ने अवस्था आएको बताईन् ।‘डेरामा बसेकी छु । दिनभरी अस्पतालमा अरु गर्भवती र विरामीहरूलाई दुध, हरियो सागपात र ताजा फलफूल खानुस भनेर सम्झाउँछु । आफू भने नजिकैको बजारमा सागपात र फलफूल हेरेरै चित्त बुझाउँछु ।’ बैद्यले गुनासो गरिन् । ‘यस्तै अवस्था रहे आफ्नै सन्तान कस्तो होला चिन्ता लागेको छ ।’ बैद्यले सुनाईन् ।
त्यस्तै सोही संस्थामा कार्यरत डा. अनुसठा खाँलाई पनी तलब नपाउँदा समस्या परिरहेका छ । घरबाट बाहिर डेरामा बसेर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मीको अवस्था भयावह भएको उनको गुनासो छ ।उपमहानगरकै वडा नं.१७ स्थीत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत अनमी पानमती चौधरीले पनी तलब नपाउँदा बच्चाहरूको स्कुलको शुल्क ,पोषाक, कापीकलम किन्न समेत नपाएको बताईन् । बालबालिकाको शिक्षाका साथै घर ब्यवहार,ऋणको किस्ता ब्याज तिर्न नसक्दा सामाजिक रुपमा अप्ठ्यारो परेको सुनाईन् ।
यता कर्मचारीले पाउनु पर्ने सुविधाको रकम बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । माथीबाटै रकम कम आईरहेकाले वितरण गर्न नसकिएको स्वास्थ्य शाखाका प्रमुख लालबाबु सहनीले जानकारी दिए ।‘स्वास्थ्य मन्त्रालय वा अर्थमन्त्रालय कसको कारण हो थाहा हुन सकेको छैन । विभागमा बारम्बार पत्राचार गरिरहेका छौं । आज आज भोली भोली भन्दैछन् यहाँ कर्मचारीहरूमा ५२ लाख तिर्न बाँकी छ । ’, सहनीले सुनाए ।
उपमहानगरका तर्फबाट गरिनु पर्ने सबैखालको पहल भैरहेको उपमेयर सरस्वती चौधरीले बताईन् ।‘कर्मचारी काठमाण्डौ पठाएरका छौं, काठमाण्डौं रहेका कर्मचारीले बताए अनुसार स्वास्थ्य विभागमा रोकिएको फाईल अगाडी बढेको छ , केह दिनमा कामहोला । रोकीएको तलब कर्मचारी पाउनेमा आशाबादी छौं । ’उपमेयर चौधरीले बताईन् ।उपमहानगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य केन्द्र र ८ वटा स्वास्थ्य चौकीले सेवा दिइरहेका छन् ।
Views: 0