काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले अस्पतालमा बिचौलियाको संलग्नताले गर्दा पछिल्लो अस्पताल तथा चिकित्सक माथि हातपातको श्रृङ्खला बढ्दै गएको बताएका छन्। कार्यक्षेत्रमा चिकित्सकमाथि हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको उच्चस्तरीय छलफलमा मन्त्री बादलले यस्तो बताएका हुन्।
गृहमन्त्री बादलले स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षामा सुरक्षा निकाय सचेत रहेकाले स्वास्थ्यकर्मी र सुरक्षा निकायको राम्रो समन्वय भएमा यस्ता घटनाहरुलाई कम गर्न सकिने बताए। ‘बेलाबेलामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु बिरामीको स्वास्थ्य उपचार सेवामा लापरबाही गरेको घटना बाहिर आउने गरेको छ’, उनले भने, ‘यसमा जसले गर्दा चिकित्सक पनि विरामीको स्वास्थ्य सुरक्षामा ध्यान दिनु आवश्यक छ। तर अन्य कारणले स्वास्थ्य संस्थामा हुने आक्रमणमा हामी जिम्मेवार छौँ।’ यस्तै गृहमन्त्री बादलले अस्पतालमा हुने घटनालाई राजनीतिकरण गरेर विचौलियाहरुले बार्गेनिङ गर्ने गरेको बताए।
यस्तै स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीको कार्य क्षेत्रमा राम्रोसँग सुरक्षा नभएसम्म नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने बताए। उनले भने, ‘जनताको स्वास्थ्य सेवामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको जबसम्म राम्रो सुरक्षा हुँदैन, तबसम्म गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन।’ यस्तै छलफलमा गृह सचिव प्रेम राईले स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षामा सरकार गम्भीर रहेको बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीले गुणस्तरीय सेवा प्रदान गर्नु पर्ने बताए।
कार्यक्रममा गृह सचिव प्रेम राई, सुरक्षा निकायका पदाधिकारी तथा निजी अस्पताल सञ्चालकहरुको संस्था अफिन, चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा स्वास्थ्य सम्वद्ध संस्थाहरुको प्रतिनिधिहरुलाई समेत बोलाइएको थियो ।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव लगायत तथा उच्च अधिकारीसमेत सहभागी थिए। पछिल्लो समयमा लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोडको घटना बढ्दै जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मी हतोत्साहित भएको भन्दै स्वास्थ्यकर्मीले विरोध गर्दै आएका छन्। थाहा खबर
Views: 0