बाढी र पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ३२ पुग्याे, देशैभर जनजीवन प्रभावित

२०७६ असार २८, शनिबार २२:२६ गते २०७६ असार २८, शनिबार २२:२६ गते २०७६ असार २८, शनिबार २२:२६ गते

बाढी र पहिरो र डुबानका कारण ३२ जनाकाे ज्यान गएकाे छ, १७ जना बेपत्ता र १२ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म ८ सय ३१ जनाको उद्धार गरिएको छ भने ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएका छन् । बाढी पहिरोमा परेर ललितपुरमा पाँच तथा काठमाण्डाै, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन-तीन, धादिङ र सिन्धुलीमा दुई-दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक-एक जनाले ज्यान गुमाएकाे थापाले जानकारी दिनुभयो । महोत्तरीमा पाँच सय, रौतहटमा दुई सय, सिन्धुलीमा ७०, काठमाण्डौमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक-एक जनाको उद्धार गरिएको छ । मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक-एकजना घाइते भएका छन् । त्यस्तै सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाण्डौ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक-एक जना बेपत्ता भएको थापाले बताउनुभयो ।

सप्तकाेशीका ४० ढाेका खाेलिए
सप्तकोसी नदीमा पानीको बहाव पाँच वर्षपछिकै सबैभन्दा धेरै पुगेको छ । सप्तकोशीमा शनिबार बेलुका पानीको बहाव प्रति सेकेन्ड तीन लाख छ हजार छ सय छ क्यूसेक पुगेको छ । २०७१ सालमा कोशीमा ३ लाख ४१ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेण्ड मापन भएको थियोे । अहिले सप्तकोशीका ५६ मध्ये ४० वटा ढोका खोलिएका छन्। पानी परिरहेकोले सप्तकोशीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । यस्तै, राप्ती नदीमा पानीको सतह खतरामाथि पुगेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आसपासका बासिन्दालाई सुरक्षित रहन साइरन बजाएर सूचित गरेको छ ।

एसएसबीले बाँध मर्मत गरेपछि रौतहट डुबानमा
रौतहटको दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर भारतीय पक्षले बनाएको बाँध भत्किएको केहीबेरमै मर्मत गरेपछि रौतहट सदरमुकाम गौरसहितका ठाउँ जलमग्न भएका छन् । बाँध भत्किएर पानी भारततर्फ बग्न थाल्दा नेपालतर्फ पानीको सतह केही घटेपनि भारतीय सीमा सुरक्षा बल एसएसबीले केही समयमै बाँध मर्मत गरेर पानी रोकेपछि नेपाली भूभागमा डुबान भएको छ । दशगजामा रहेका भारतीय बाँधका ढोका भारतीय पक्षले नखोलेपछि रौतहट सदरमुकाम गौरसहित धेरैजसो ठाउँ डुबानमा परेका छन् । गौरमा घरको एक तलासम्म पानी भरिएको त्यहाँबाट उज्यालो सहकर्मी मदन ठाकुरले जनाउनुभएकाे छ। यस्तै धनुषाको शहीद नगरपालिका बत्राइमा फसेका १८ जनाको उद्धार गरिएको छ । धनुषामै कमला नदीे बाँध भत्काएर गाउँपसेपछि झण्डै १ सय ५० घरपरिवार विस्थापित भएका छन् । ३० मिटरसम्म बाँध भत्काएर नदी गाउँपसेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीमा खोलो थुनिँदा झण्डै ४० घर डुबानमा परेका छन् ।

धनकुटामा ११ घर परिवारलाई सुरक्षित ठाउँमा सारियाे
पहिरो गएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका ११ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । धनुषाको सघारा र सिराहाको बस्तीकट्टा गाउँपालिकाको बीच कमला नदीमा पुल बनाउने क्रममा बाढीमा फसेका इन्जिनियरसहित १८ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी नुभयो ।

पाल्पामा पहिराे, माेरडमा पानी नाप्न जाँदा ज्यान गयाे
पाल्पाको सिद्धबाबा पहिरोमा परेर पाल्पाको निस्दी गाउँपालिका ४ का धनबहादुर सुनारी मगरको ज्यान गएको छ । खोलामा पानी नाप्न गएकी मोरङ्गको कटहरी गाँपालिका ४ की सोभा सेरन डुबेर बेपत्ता भएको र उर्लाबारीमा पनि एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिनुभयो ।

बाढी र डुबानमा परेका परिवारलाई प्रदेश २ सरकारले तीन लाख दिने
प्रदेश २ को सरकारले बाढी र डुबानमा परेर ज्यान गुमाएकाका परिवारलाई तीन-तीन लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै ज्यान गुमाउनेका परिवारलाई तीन-तीन लाख तथा राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०-१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै, प्रदेश तीन सरकारले बाढी, पहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँका दरले राहात दिने घोषणा गरेको छ । प्रदेश ३ को विपद् व्यवस्थापन निर्देशक समितिको वैठकले राहात दिने निर्णय गरेको समितिका अध्यक्ष समेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । बाढीपहिरोमा परेर घाईते भएकालाई प्रदेश ३ सरकार मातहतका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यसभन्दा बाहेकका अस्पतालमा उपचार गराए जनही २५ हजार रुपैयाँ सम्म राहत रकम उपलब्ध गराइने मुख्य मन्त्री पौडेलले बताउनुभयो । प्रहरीले अवरुद्ध सडकहरु खुलाउने प्रयास गरिरहेको जनाएको छ । यात्रा गर्दा संयम अपनाउन र सुरक्षामा ध्यादिन प्रहरीले अनुरोध गरेको छ । यस्तै कुनै ठाउँको यात्रा गर्नुभन्दा पहिले त्यहाँको बाटोको अवस्थाबारेमा जानकारी लिन पनि प्रहरीले आग्रह गरेको छ ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed