दाङ, २२ भदौ
हिन्दुहरुको महान् पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै शुक्रवारदेखी घोराहीमा तीज महोत्सव सुरु भएको छ । अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा शुक्रवारदेखी ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ सुरु भएको हो । तीज संस्कृति संरक्षण एवं तीजमा मनोरञ्जनकालागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
२८ गतेसम्म हुने महोत्सवको राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि देवकोटाले तीजले नेपालीहरुमा सद्भाव र एकता कायम गर्ने बताउनुभयो । उहाँले तीज पर्व अन्याय र अत्याचार विरुद्धको महिला एकताको सन्देश दिने पर्व भएको भन्दै यस पर्वलाई समयअनुकुल बनाउदै संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । कुनै बेलामा महिलाहरुको पीडा बिसाउने पर्व, माईतमा जानकालागि, मिठो खानकालागि मनाईने पर्व तीज भएको र पछिल्लो समय विकृतितर्फ उन्मुख हुन थालेकाले यसतर्फ सबै सचेत भएर विकृतिरहित पर्व बनाउनुपर्ने उहाँको भनाई छ । तीज पर्व भनेको अधिकार प्राप्तीकालागि महिलाहरुको शक्तीशाली दिन भएको भताउदै देवकोटाले धर्म संस्कृति हाम्रो धरोहर रहेको बताउनुभयो । साथै तीज महोत्सवको सफलताको शुभकामना पनि दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक प्रेम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयाशनले यस्ता महोत्सवले संस्कृतिको संरक्षण गर्ने बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान केन्द्रिय अध्यक्ष चन्द्र शर्माले कलाकारहरुलाई केही निकायले वेवास्ता गर्ने गरेको भन्दै संगीत र कलाकारहरुको महत्व सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । निम्तो गर्दा पनि जिल्लाका विभिन्न सरकारी एवं निजी क्षेत्रका प्रमुख व्यक्तीहरु उपस्थित नभएकोमा गुनासो गर्दै उनले पुरानो सोचमा परिवर्तन गर्न आवश्यक भएको बताए ।
महोत्सवको पहिलो दिन लोकदोहोरी गायक चन्द्र शर्माले तीज गीतबाट दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । उनको चर्चीत गीत बाच्छीले धान खायो लगायत अन्य गीतहरु प्रस्तुत गरेका थिए । यस्तै मोडल बेबो आचार्य, गायक रामसिंह विश्वकर्मा, कलाकारहरु मनोज रसाईली, राजु विक, मीना लम्साल, संंगीता मगर लगायतले प्रस्तुति राख्नुभएको थियो । प्रतिष्ठानका जिल्ला उपाध्यक्ष राजेन्द्र दाहालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण सचिव पोषण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सुरु हुनुभन्दा पहिले घोराहीमा प्रभातफेरि गरिएको थियो ।
महोत्सवमा शनिवार ज्योति मगर
शुक्रवारदेखी घोराहीमा सुरु भएको तीज महोत्सवमा शनिवार गायीका एवं मोडल ज्योति मगर आउनुहुने भएको छ । नेपाली कलाकारिताका लोकप्रीय गायिका एवं मोडल ज्योति मगर हाँस्य कलाकार कमल गाँउले लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिले जानकारी दिएको छ । यस्तै हास्य कलाकार कमल गाउले, प्रेम शर्मा, रामसिंह विश्वकर्मा लगायतका कलाकारहरुको शनिवार प्रस्तुति रहने छ । भोलिबाट महोत्सव प्रबेशका लागि बिद्यार्थिको लागि रु ४० र अन्यका लागि रु ५० को टिकट ब्यबस्था गरीएको पनि मुल आयोजकले बताएको छ । आज तिज महोत्सवको पहिलो दिन करीव पाँच हजार दर्शकको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो भने भोलिबाट अझँै भब्य बनाउन महोत्सवमा उपस्थितिकालागि आयोजकले सम्पूर्णमा अनुरोध समेत गरेको छ ।
Views: 0