सोलिह राष्ट्रपतिमा चुनिएपछि चीनले दियो बधाई, चीन निकट उम्मेदवारले हारेका थिएएजेन्सी
असोज ९, २०७५
बेइजिङ– मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उनलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ ।
निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत भएका थिए ।
प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा निर्वाचन लडेका सोलिहले यमीनमाथि अप्रत्यासित रूपमा विजय चुम्न सफल भएका थिए ।
यमीनको कार्यकालमा चीन–मालदिभ्सबीचको सम्बन्धमा निकटता देखिएको र सोही समय चीनले मालदिभ्सको भौतिक पूर्वाधार निर्माणमा ठूलो राशी ऋण लगानी दिएको थियो ।
यमीन सरकारलाई विमानस्थलदेखि राजधानी माले जोड्ने चाइना–मालदिभ्स फ्रेन्डसिप ब्रिज लगायतका आयोजना निर्माणका लागि दशौँ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । पुल गत अगस्टदेखि सञ्चालनमा आएको छ ।
चीनले मालदिभ्सलाई दिएको ऋणले लामो समयदेखि माल्दिभ्सको पक्षमा सहयोग गर्दै आएका भारत तथा पश्चिमा मुलुकहरूलाई चिन्तित तुल्याएको थियो । पूर्व–पश्चिम व्यापार मार्गमार्फत टापूहरूको देश मालदिभ्समा चीनको प्रभाब बढ्न थालेपछि उनीहरूले मालदिभ्सप्रति सम्वेदनशील बनेका थिए ।
चीनका विदेश मन्त्रालयका गेङ सुवाङले भने, “हामीले माल्दिभ्ससँगको हाम्रो परम्परादेखिको मित्रतालाई थप बलियो बनाउन सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ साथै यसबाट दुबै देश र यहाँका जनताले लाभ लिने विश्वास चीनको छ ।”
सञ्चारकर्मीसँगको नियमित भेटघाटमा उनले भने, “चिनियाँ व्यवसायिक लगानी भित्राउने वातावरण मालदिभ्सले बनाउने सम्वन्धमा नीतिगत स्थायित्व कायम गर्नेमा चीन विश्वस्त छ ।”
यमीनले आफ्नो कार्यकाल यही नोभेम्बर १७ मा सकिने र त्यसपछि स्वभाविक तथा औपचारिक सत्ता हस्तान्तरण हुने बताएका छन् ।
Views: 0