गाउँ–घरमै डाक्टरी सेवा पाउँदा नागरिक खुशीशिबराज पन्थी / गढवा, १४ असोज । गढवा–६ वालापुरकी ७४ बर्षिय बृद्धा कनादो यादवलाई शनिबार गढवामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पाखुरामा समाएर हाडजोर्नी नसा रोग बिशेषज्ञसँग जचाउन लैजानु भयो । यो दृष्य देखेर गाउँघरमै बिशेषज्ञ सहितको डाक्टरी सेवा पाउँदा यादव मात्र होइन चेकजाँचका लागि आएर लाइनमा बसेका सबै बिरामी खुसी भएका छन् ।
गढवा गाउँपालिकाद्धारा आयोजना गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा उद्घोषक गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले उद्घोषण गर्दै गर्दा लाइनमा लागेका बिरामीहरु पालो पर्खेर बसीरहेका थिए । एकाबिहानै बुटवलबाट हाडजोर्नी र नसारोग बिशेषज्ञ आउने कुरा थाहा पाएर चेकजाँच गराउन जनता मावी गढवाको फिल्डमा आएर चौरमा पल्टीएकी ति बृद्धा यादवको पालो पहिले नै आयो । प्रचण्ड गर्मीमा पालो पर्खेर लाइनमा बस्नुभएकी गढवा–७ भोजपुरकी बिष्णु चौधरीको पालो पनि आइहाल्यो । तल्लोपेट दुख्ने समस्याले ग्रस्त उहाँले हत्तपत्त डाक्टरलाई भेट्न जानुभयो । नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको भिआईए टेष्ट सेवापनि राखीएको थियो । उहाँ लगायत गढवा र राजपुरका एक सय त्रिसठ्ठी जना महिलाहरुले यो सेवा लिएको संघका दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच मात्र होइन औषधी वितरण पनि निःशुल्क थियो ।
दिनभर लाइनमा बसेर हातखुट्टा दुख्ने समस्याले ग्रस्त भएकी गढवा ७ चन्दनपुरकी लक्ष्मी देवि सुनारले हाडजोर्नि नशारोगका बिशेषज्ञसंग गाउँमै जँचाउन पाउदा खुसी मात्र होइन औषधी समेत पाएपछि हौसीएर घरमा जानुभयो । गढवा–६ पर्नाहाकी चन्द्रावती यादवले गाउँमै डाक्टर आउने खबर रेडीबाट सुनेर स्वास्थ्य जाँच गराउन आउनु भयो । डाक्टरले जाँचेपछि बुटवलमा बोलाएका छन् । डाक्टरले ३ दिनको औषधी दिएर बुटवल स्थित चौराहा हस्पिटलमा बोलाएका छन् । पैचालिस बर्षको उमेरसम्म बुटवल नदेखेको बताउनुहुने उहाँले बुटवल देख्न पाउने बताउनु भयो । यादव जस्तै राजपुर–१ कठबेरुवाकी ५८ बर्षिय खुमा कुमारी भट्टराईलाइ पनि १० दिनको औषधी दिएर संचो नलागेमा बुटवल आउन भने । राजपुर १ की ४५ बर्षिय माया केसी र गढवा ४ गंगापरस्पुरकी ५० बर्षिय देवा शर्मा पनि गाउँमै निःशुल्क डाक्टरी सेवा पाउँदा खुसी भएर जँचाउन आएको बताउनु भयो । गाउँघरमै डाक्टरी सेवा पाइने भएको सुनेर खुसी हुदै जँचाउन आएको लाइनमा बसेका अधिकांशको भनाई थियो ।
एता नेपाल रेडक्रस सोसाइटी दाङको रक्तसंचार सेवा केन्द्रले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । रक्तदान जिवनदान भएकोले म ५० बर्षको बुढोले पनि रक्तदान गर्न आएको छु गढवा–४ सुनपुरुवाका लालबहादुर भण्डारीले भन्नुभयो । भण्डारी सहित शनिवार गढवाको स्वास्थ्य शिविरसंगै आयोजना गरीएको रक्तदान कार्यक्रमम २५ जनाले रक्तदान गर्नुभएको रक्तसंचार सेवाकेन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले बताउनु भयो । गढवा गाउँपालिकाले पहिलो पल्ट संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा कुल ५८३ जनाले चेकजाँच गराएका छन् । यत्तिठूलो संख्यामा शिविरमा बिरामीहरु आएको पहिलो रेकर्ड भएको चौराहा हस्पिटल प्रा.ली.का प्रबन्ध निर्देशक रेशमराज भण्डारीले बताउनु भयो । गढवा गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवा र इन्कोर कार्यक्रम तथा नेपाल परिवार नियोजन संघ दाङशाखाको सहआयोजनामा बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा चौराहा हस्पिटल प्रा.ली. बुटवलले बिशेषज्ञ सेवा सहित निःशुल्क औषधी वितरण र नेपाल परिवार नियोजन संघ दाङले महिलाहरुको पाठेघर परिक्षण सहित औषधी वितरणको प्रविधीक सेवा संचालन गरेको हो ।
शिविरमा चौराहा हस्पिटलका न्यूरो सर्जन डा.सुदिपराज सिंह, मेडीकल सुपरिटेण्डेन डा.योगेन्द्र अग्रहरी,फिजिसियन डा.विवेक मल्ल र मेडीकल अफिसरहरु डा.प्रसान्त घिमिरे तथा डा.चन्द्र घिमिरेले चेकजाँच गर्नुभएको थियो । सो शिविरमा हाडजोर्नी र नशारोग र पाठेघरको परिक्षण गराउनेहरु बढी संख्यामा आएको तथा अन्य बिरामीहरु कम संख्यामा आएको आयोजकले जनाएको छ । शिविरको अवलोकन गर्न दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ समेत गढवामा पुग्नुभएको थियो । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङका मन्त्री मदन गौतम, नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनाल र चौराहा हस्पिटल प्रा.ली.बुटवलका प्रबन्ध निर्देशक रमेशराज भण्डारीले शिविरको महत्वका बारेमा बोल्नु भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्ने डाक्टरहरु तथा सहयोगी संघसंस्थाहरुलाई गढवा गाउँपालिकाले सम्मान पत्रले सम्मान गरेको थियो । उद्घाटन र समापन कार्यक्रमको संचालन गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले गर्नुभएको थियो ।
pradeshsancharonline
Views: 0