काठमाडौं, २८ वैशाख – चितवन, आफ्नै श्रीमती ३४ वर्षीया अञ्जु अधिकारीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खैरहनी नगरपालिका-९ सिमल टाँडी बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण कृष्णले खुकुरी प्रहार गर्दा अञ्जुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका-५ दाङसिंङ बस्ने २६ वर्षीय भिमसेन बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसिविको कारण छिमेकी ३१ वर्षीय यम बहादुर गुरुङलाई बाटोमा हिँडिरहेको अवस्थामा बुढाथोकीले धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । घाइते यमको उपचारको लागि धादिङवेशीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोत:Nepal_Police
Views: 0