प्रदेश अनलाइन खबर,भाद्र-२२। नारायणी अस्पतालमा उपचार नपाउँदा गयो युवकको ज्यान, कोरोना होला भन्दै डाक्टरले छुनै मानेनन राहुल गुप्ता वीरगंज, २२ भदौ नारायणी अस्पतालका चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन् । सोमवार जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङसँग भेट गर्दै मृतकका परिवारजनले घटनाको छानबिन गर्न माग गरेका छन् । बारा जिल्ला कोल्हवी नगरपालिका वडा नं. ४ सपही निवासी २२ वर्षीय विक्रम चौधरी उपचार नपाएर मृत्यु भएको मृतकका दाजु अनिल चौधरीले प्रजिअ तामाङलाई जानकारी गराए ।
सास फेर्न समस्या भएपछि चौधरीलाई आइतवार बिहान ११ बजे नारायणी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । पिसिआर रिपोर्टविना नारायणी अस्पतालका चिकित्सकहरुले चौधरीको उपचार नगरेपछि राति ८ बजे उनको मृत्यु भएको मृतकका दाइ अनिलको आरोप छ । भाइलाई साँस फेर्न समस्या भएपछि आफैले आक्सिजन सिलिन्डर ल्याइ अक्सिजन दिएको बताउँदै नारायणी अस्पतालका चिकित्सकहरुले कोरोना रिपोर्ट नआउन्जेलसम्म भाइको उपचार गर्न नमानेको अनिलले बताए । विक्रमको मृत्युपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको दाजु अनिलले सञ्चारकर्मीलाई जानकारी गराए । यसबारेमा प्रजिअ तामाङले घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन्
Views: 0